Techie IT

रामारोशन गाउँपालिका – घर आँगनमै खानेपानी : घर आँगनमै मनग्य आम्दानी


रामरोशन गाउँपालिकाको वडा नम्बर २ का राम बहादुर रावल बिहान साँझै घरबारी मै भेटिन्छन् ।

२७ बर्षिया रावल घरको आँगनमा फलाएको तरकारी गोडमेलमा व्यस्त हुन्छन् भने अघि पछि बारीमा उत्पादन गरेको तरकारी बिक्री वितरणका लागी नजिकैको बजारसम्म पुग्छन् ।

यो उनको केही महिना यताको नियमित दिनचर्या हो ।

घर छेउमै रहेको करिब ३ रोपनीमा यो सिजनमा मात्रै उनले विभिन्न थरिका तरकारी उब्जाएका छन् । उनको बारीमा लटरम्म टमाटर हरियो साग,सिमी लगायतका तरकारी प्रशस्तै भेटिन्छन् ।

रावलका अनुसार उनले यो सिजनमा मात्र १० क्विन्टल बढी आलु र ५ क्विन्टल टमाटर उत्पादन गरि बिक्री गरेका छन् । आलु, टमाटर लगायत तरकारीबाट मात्र यो सिजनमा करिब १ लाख कारोबार गरेको रावल बताउँछन्, बताउँछिन् ।

रामारोशन गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको आवश्यक सहयोग पश्चात उनी व्यवसायीक कृषि व्यवसायमा लागेका हुन् ।

रामारोशन गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणले मार्फत रावलले हालसम्म ४ वटा तालिम पाई सकेका छन् । भने तरकारी खेतीका लागी आवश्यक पर्ने बिउ बिजन देखी प्राविधिक सहयोग समेत उनले पाइरहेका छन् ।

रावलका अनुसार उनले प्लास्टिक घर निर्माण सम्बन्धी तालीम,अगुवा कृषक तालीम,तरकारी खेती सम्बन्धी तालीम र व्यवसायीक योजना सम्बन्धी तालीम मात्र पाएनन् कि तरकारी खेती गर्न आवश्यक बिउ विजन,टनेल र प्राविधिक सहयोग समेत पाएका छन् ।

तरकारी व्यवसाय सुरु गरे पश्चात घर खर्च चलाउनु साथै आर्थिक बचत गरेको उनी बताउँछन् ।बारीमा उत्पादन गरेको तरकारी किन्न ग्राहक नै बारीमै किन्न आउने गरेका कारण तरकारी बेच्न कमै मात्रामा बजार जानु परेका उनले बताए ।

तरकारी व्यवसायबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको बताउँदै उनले अन्नबाली गर्दै आएको अन्य ठाउँमा समेत तरकारी खेती गर्ने योजना रहेका बताएका छन् ।

स्थानीय रामारोशन गाउँपालिका सरकार र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको सहयोगमा घर आँगनमै आम्दानी गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनी अन्य युवाहरूलाई पनि आफ्नै गाउँ ठाउँमै व्यवसाय गर्न सुझाव दिन्छन् ।

पहिले बेरोजगार भई खाली बसेको अनुभव सुनाउँदै रावलले गाउँपालिका सरकार र संस्थाको सहयोगले आफ्नो जीवनयापन तथा दिनचर्यामा ठुलो परिवर्तन आएको बताए ।

रामारोशन गाउँपालिकाको वडा नम्बर २ का राम बहादुर रावलसँग गरिएको कुराकानी :-

रामारोशन गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणले वडा नम्बर २ मुजाबगरमा चाउडेखेत सुकिडाँडा मुजाबगर खानेपानी योजना सञ्चालनमा ल्याएको छ ।

४२ लाख ८८ हजार २ सय ८१ रुपैयाँको लागतमा सम्पन्न गरिएको उक्त योजना मार्फत २६ घरधुरीमा १८ धारा जडान गरिएका छन् । घर आँगनमै खानेपानी धारा निर्माण भएसँगै रावलसँगै यहाँका अन्य स्थानीय पनि तरकारी व्यवसाय तर्फ आकर्षित भइरहेका छन् ।

उक्त खानेपानी योजना निर्माणका लागी बनाइएको निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर रावल खानेपानी योजना सञ्चालन पश्चात गाउँलेहरूको जीवनमा आएको परिवर्तनले निकै खुसी छन् ।

योजना मार्फत खानेपानी सञ्चालन हुनु पहिले खानेपानी बोकेर ल्याउनकै लागी १ घण्टा टाढा जानुपर्ने बाधयता रहेको बताउँदै अध्यक्ष रावलले हाल घर नजिकै धारामा पानीमा आउन थालेपछि निकै सहज भएको बताए ।

विद्यालय जाने विद्यालय उमेरका बालबालिका समेत बिहान साँझ पानी बोक्नकै लागी टाढा जानुपर्ने बाध्यतासँगै शौचालय प्रयोग र सरसफाइमा समेत समस्या हुँदै आएकोमा हाल ती सबै समस्याको समाधान भएको रावल बताउँछन् ।

घर नजिकै धारामा पानी बग्न थालेपछि सरसफाइ मात्र नभई केही युवाहरू व्यवसायीक रूपमै तरकारी खेती गरेर आर्थिक आम्दानी गरिरहेको उनले बताए । यो योजनाको अध्यक्षको जिम्मेवारी पुरा गर्दै घर नजिकै पानीको सहज पहुँच पुर्‍याउन सफल भएकोमा रावल खुसी व्यक्त गर्छन् ।

चाउडेखेत सुकिडाँडा मुजाबगर खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर रावलसँग गरिएको कुराकानी :-

उता रामारोशन गाउँपालिकाकै वडा नम्बर ५ सल्लीसैनका नागरिकको जीवनशैलीमा पनि ठुलो परिवर्तन आएको छ । ८१ घरधुरी रहेको सल्लीसैन टोलमा प्रत्येक घरधुरीमा खानेपानी बोक्नु १ जनाको नियमित काम नै हुन्थ्यो ।

पालो नपाएपछि राती अबेरसम्म पालो पर्खिनु,पानी ल्याउन जानु र पानी लिएर फर्किनुमै करिब ३ घण्टा समय खर्चिनु उनीहरूका लागी सामान्य बनिसकेको थियो ।

तर हाल रामारोशन गाउँपालिका, ग्रामीण जल स्रोत व्यवस्थापन परियोजना तेस्रो चरणको सहकार्यमा जन्ती बिसाउने खानेपानी तथा सरसफाइ योजना सञ्चालन भएपछि भने उनीहरूको जीवनशैली नै परिवर्तन भएको छ ।

९० लाख ३७ हजार १ सय ४ रुपैयाँ लागत रहेको उक्त खानेपानी योजना अन्तर्गत सल्लीसैन टोलका ८१ घरधुरीका लागी २२ वटा धारा निर्माण गरि पानी सञ्चालनमा आए पश्चात त्यहाँका नागरिकको जीवनशैलीमा परिवर्तन आएको हो । भने ६ सय ३८ नागरिक यो योजनाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

खानेपानीको लागी लाइनमा बस्नुपर्ने बाध्यताका कारण अँधेरोमै खानेपानी ल्याउन निस्किनु,साँझ ढिलो भए राती उज्यालो बालेर पानी ल्याउनु समस्या रहेको सल्लीसैनमा हाल २२ वटा धारा सञ्चालनमा आएसँगै यहाँका सर्वसाधारणको मुहारमा खुसी छाएको छ ।

अन्दाजी ५० वर्ष कटेकी देवा परियारले विगतमा बिहानै अँध्यारोमा पानी लिन जानुपर्ने, घरका कचौरामा समेत फुर्सदका बेला पानी भरेर राख्नुपर्ने बाध्यता रहँदै आएकोमा हाल घर आँगनको धारामा पानी बग्दा आफ्नो जीवनशैली नै परिवर्तन भएको बताइन्

पानीकै समस्याका कारण नुहाउन,लुगा धुन,शौचालय प्रयोग गर्न समेत कठिनाइ हुँदै आएकोमा रामारोशन गाउँपालिका, ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाले घर आँगनमै धारामा पानी ल्याइदिएकोमा निकै खुसी छन् ।

यस्तै सल्लीसैनकै ४२ वर्षीय जमुना परियारसँग विगतमा खानेपानीकै लागी पालो नपाउँदा कुवामा बास बसेको अनुभव छ ।

विगतमा दैनिक जसो ३ घण्टा टाढा पानी ल्याउन जानु नियति जस्तै भएको बताउने उनी नुहाउन तथा लुगा कपडा धुनका लागी दिनभर लगाएर करिब ४ घण्टा (आउन जान) लगाएर मैन पकाउने गाडमा जाने गरेको बताउँछिन् ।

तर हाल घर आँगनमै पानीका धारामा पानी आउन थालेपछि यीँ सबै समस्या हटेकोमा उनी निकै खुसी छन् ।

पहिले पानीकै अभावमा शौचालय प्रयोग गर्न तथा सावुनपानीले हातमुख धुन समेत समस्या हुँदै आएकोमा हाल घर आँगनमै धारामा पानी बग्न थालेपछि घर परिवारको लागी तरकारी समेत लगाउने गरेको उनी बताउँछिन् ।

४२ वर्षीय जमुना परियारसँग गरिएको कुराकानी :-

रामारोशन गाउँपालिकाका वडा नम्बर ५ सल्लीसैनमा सञ्चालन गरिएको जन्ती बिसाउने खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष रमेश परियार खानेपानीको समस्या टरेकोमा निकै खुसी छन् ।

रामारोशन गाउँपालिका,ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको तेस्रो चरणको सहकार्यमा सल्लीसैनका नागरिकको सदियौँ देखीको खानेपानीको समस्या टरेपछि त्यहाँका नागरिकको जीवनशैली निकै परिवर्तन भएको उनी बताउँछन् ।

अध्यक्ष परियारका अनुसार जन्ती बिसाउने खानेपानी योजना सम्पन्न गर्न निकै चुनौती भए पनि हाल नागरिकहरूलाई निकै फाइदा पुगेका छ ।

खानेपानी घर समस्या झेल्दै आएका सल्लीसैन टोल निवासी नागरिकलाई घर आँगनमा खानेपानी आउँदैन कि भन्ने थुप्रै आशङ्का भए पनि वडा,गाउँपालिका र संस्थाको ठुलो प्रयासका कारण सपना पुरा भएको अध्यक्ष रमेश परियारले बताए ।

जन्ती बिसाउने खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष रमेश परियारसँग गरिएको कुराकानी :-

यता रामारोशन गाउँपालिका वडा नम्बर ५ रामारोशनका वडा अध्यक्ष लक्ष्मण परियार यो परियोजनाले खानेपानीको समस्या समाधानसँगै नागरिकको जीवनयापनमा समेत परिवर्तन आएको बताउँछन् ।

विगतमा खानेपानीको समस्याका कारण निकै पिडामा रहेका नागरिकहरूको खानेपानीको समस्या मात्र समाधान नभई स्वास्थ्य सरसफाइको व्यवहारमा समेत परिवर्तन आएको वडा अध्यक्ष परियारको भनाई छ ।

सल्लीसैनका नागरिकको खानेपानी समस्या दर्साउनकै लागी तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री झपट बोहरालाई खानेपानी भर्नका लागी प्रयोग गरिने खाली भाँडाले स्वागत गरेको उनले बताए ।

विगतमा खानाका रुपमा दाल र भात मात्र खाने गरिएकोमा हाल आँगनमै खानेपानीको व्यवस्थापन भएसँगै नागरिकहरूले तरकारी समेत लगाउने र अनिवार्य रुपमा तरकारीको समेत प्रयोग गर्ने गरेको परियारको भनाई छ ।

घर आँगनमै पानी सहज रुपमा आउन थालेपछि वडामा हाल व्यवसायीक रूपमै केही युवाहरूले तरकारी खेती गरि मनग्य आम्दानी गरिरहेको उनले बताएका छन् ।

वडा अध्यक्ष लक्ष्मण परियारसँग गरिएको कुराकानी :-

रामारोशन गाउँपालिका ग्रामीण जलस्रोत अधिकृत लक्ष्मीराज पाध्याका रामारोशन गाउँपालिकाका ७ वटै वडामा गाउँपालिका र ग्रामीण जनस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण र सहयोगी संस्था रुडेक नेपालको सहकार्यमा गाउँपालिकामा खानेपानी ,सरसफाइ स्वच्छता तथा जीविकोपार्जनका क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भइरहेका छन् ।

परियोजनाले खानेपानी योजना,व्यवसायीक कृषि तरकारी व्यवसाय,सुधारिएको चुलो,घरबारी व्यवस्थापन लगायतका काम गर्ने गरेको छ ।

परियोजना लागु भरसके पश्चात नागरिकको खानेपानीमा सहज पहुँच संगै सरसफाइ,व्यवहार परिवर्तन,कृषि व्यवसाय सञ्चालन लगायतका परिवर्तन आएको अधिकृत पाध्याले बताए ।

रामारोशन गाउँपालिका ग्रामीण जलस्रोत अधिकृत लक्ष्मीराज पाध्यासंग गरिएको कुराकानी :-

रामारोशन गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहकार्यमा सञ्चालित विभिन्न क्रियाकलापले बालबालिका देखी बृद्धबृद्धाको जनजीवनमा परिवर्तन ठुलो परिवर्तन आएको उपाध्यक्ष सरस्वती रावलको दाबी छ ।

उपाध्यक्ष रावलका अनुसार यो परियोजना मार्फत गाउँपालिकाको जल उपयोग गुरुयोजना अनुसार काम सम्पन्न गरिएको छ जसले गुरुयोजनाका लक्ष्य समेत हाँसील भएका छन् ।

परियोजनाले खानेपानी,सरसफाइ,स्वच्छतासँगै गाउँपालिकाका नागरिकहरूको जीविकोपार्जनमा समेत ठुलो टेवा पुर्‍याएको उपाध्यक्ष रावलले बताउनु भएको छ ।


क्याटेगोरी : कृषी, जीवन शैली, बान्नीगढी बिशेष, मुख्य समाचार, रोजगार, सफलता को कथा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!