Techie IT

चर्चाकै लागी गाउँमै सामाजिक भत्ता दिने गाउँपालिका कोरोना जोखिममा बेखवर


सामान्य अवस्थामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेर चर्चामा आएको बान्नीगढी जयगढ गाउँपालिका कोरोना सङ्क्रमण जोखीमका समयमा भने सामाजिक सुरक्षा भत्ताबारे बेखवर देखिएको छ ।

यस अघि सामान्य अवस्थामा नागरिकका घरदैलोमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेर चर्चामा आएका गाउँपालिकाका जनप्रतिनिधि कोरोना सङ्क्रमणको जोखीमका बिच बृद्धबृद्धा भिडभाड सहित बैङ्कमा धाउँदा समेत यस बिषयमा बेखवर तथा मूकदर्शक देखीएका हुन् ।

सामाजिक सुरक्षा भत्ता वितरण बैङ्क मार्फत सुरु गरिएको बान्नीगढी जयगढ गाउँपालिकामा यस अघि सामान्य अवस्थामा गाउँपालिकाको विशेष आग्रहमा जनप्रतिनिधि र बैङ्कका कर्मचारीले घरदैलोमै पुगी भत्ता वितरण गरेका थिए ।

तर केही दिन यता बान्नीगढी जयगढ गाउँपालिकामा कोरोनाको सङ्क्रमण भयावह स्थितिमा फैलिरहेका अवस्थामा सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागी दैनिक दर्जनको सङ्ख्यामा बृद्धबृद्धा सिभिल बैङ्कमा धाइरहँदा समेत गाउँपालिकाले यस बिषयमा कुनै चाँसो देखाएको छैन ।

६० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई कोरोना सङ्क्रमण र यसको असरको उच्च जोखिम हुने स्वास्थ्यकर्मीको भनाई छ । तर तीनै जोखिममा ठानिएका बृद्धबृद्धा कोरोनाको भयावह स्थितिमा टाढा टाढाबाट बैङ्कमा भत्ता बुझ्नकै लागी बैङ्कमा धाई रहेका छन् ।

सिभिल बैङ्कमा कार्यरत यज्ञमान खड्काका अनुसार आइतबार मात्रै २ सय जना बृद्धबृद्धाले बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता बुझेका छन् ।

सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ता लगायतका सेवा लिन सयौँको सङ्ख्यामा सेवाग्राहिको भिड लाग्दा सङ्क्रमणको जोखिम बढेको भन्दै बैङ्कका शाखा प्रबन्धक नीरज भट्टले चिन्ता व्यक्त गरेका छन् ।


क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस