Techie IT

कोरोना रोकथामका लागि छिमेक लघुवित्तद्वारा २ पालिकालाई सहयोग


कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिपुर डडेलधुराले दुई गाउँपालिकालाई सहयोग गरेको छ।

लघुवित्त वित्तीय संस्थाले जिल्लाको अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई सहयोग गरेको हो ।

सोमबार संस्थाका शाखा प्रबन्धक सुरेश सुतारले अजयमेरुका उपाध्यक्ष कलावती भाणलाई १३ हजार र भागेश्वरका नायब सुब्बा मातृकाप्रसाद भट्टलाई १२ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना नियन्त्रणका लागि आर्थिक सहयोग गरेकोमा वित्तीय संस्थालाई उपाध्यक्ष भाणले धन्यवाद ज्ञापन गरेकी छन् ।कोरोना महामारीविरुद्ध लड्न केही सहयोग होस् भन्ने हेतुले संस्थाले सहयोग गरेको प्रबन्धक सुतारले बताए ।

यस्तै, वित्तीय संस्थाले अस्थायी प्रहरी पोस्ट चितपुरलाई पनि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

प्रबन्धक सुतारले स्वास्थ्य सुरक्षा अपनाउनका लागि मास्क, स्यानिटाइजर, हेन्डवास लगायतका स्वास्थ्य सामग्री प्रहरी पोस्टका हवलदार करन चन्दलाई हस्तान्तरण गरेका हुन्।

जनताको सेवामा दैनिक २४ सै घण्टा खटिने प्रहरी सुरक्षाकर्मीलाई केही हलसम्म टेवा पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको प्रबन्धक सुतारले बताए।

वित्तीय संस्थाले संस्थामा आबद्ध भएका सदस्यहरू कोरोना सङ्क्रमित भएको खण्डमा फलफूल र खाजाका लागि भनेर प्रति व्यक्ति २ हजार रुपैयाँ समेत दिने गरेको उनको भनाइ छ ।

यस्तै, सङ्क्रमित भएर अस्पताल भर्ना हुनुपरेको खण्डमा प्रतिव्यक्ति १० हजार उपचार खर्च समेत संस्थाले व्यहोर्ने प्रबन्धक सुतारले जानकारी दिए ।


क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस