Techie IT

सर्प हाम्रो लागि शत्रु नभएर मित्र पनि हो


सर्प भन्ने बित्तिकै हामी सबैमा एक प्रकारको डर पैदा हुन्छ। सर्पले डस्ने बित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने आम बुझाइका कारण हामीमा त्रास पैदा भएको हो । त्यसैले त गाउँघरतिर मानिसहरु सर्प देख्‍ने बित्तिकै मारिहाल्छन् । अझ भनौं, देख्‍ने बित्तिकै सर्पको टाउकोमा हान्छन् । सर्प हाम्रो लागि शत्रु नभएर मित्र पनि हो ।

हाम्रो पर्यावरणमा सन्तुलन कायम गर्नका लागि सर्पको महत्त्व निकै ठूलो छ भन्ने यथार्थ थाहा हुँदाहुँदै पनि यसलाई मार्न तम्सिनु मानव स्वभाव नै बनेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष नेपालमा २० हजारको संख्यामा सर्पदंशका घटनाहरु हुने गरेको छ । यस्तै, सर्पको टोकाईबाट बर्सेनि करिब हजारजना बढीले ज्यानै गुमाउने गरेका डब्लूएचओको तथ्यांक देखाउँछ ।

सर्पको टोकाइबाट हुने मृत्युलाई कम गर्न ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश व्यवस्थापन सम्बन्धिको कार्यविधि नै निकालेको छ । उक्त कार्यविधिमा उल्लेख भए अनुसार सर्पदंशका अधिकांस घटनामा मानिसहरु आफ्नै कारणले ज्यान गुमाउने गरेका छन् । घरेलु औषधि सेवन, अत्तालिएर र झारफुक अनि समयमा नै अस्पताल नपुर्‍याउँदा मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

नेपालमा हाल ८२ प्रजातिका सर्पहरु पाइने सर्प विज्ञ एवं अनुसन्धानकर्ता करण साह बताउँछन् । तीमध्ये करिब २१ प्रजातिहरु विषालु छन् । विषालुमध्ये गोमन, करेत, रुसेल्स भाइपर, किङ कोब्रा र कोरल स्‍नेक(कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन् ।

सर्पलाई देख्‍ने बित्तिकै मार्ने क्रम विद्यमान भएपनि पछिल्लो समय देशका विभिन्न स्थानमा ‘सर्पका साथी’हरुको उपस्थिति बढ्दै गइरहेको छ । उनीहरुको मुख्य काम भनेकै घर-कम्पाउन्डमा पसेका र घाइते सर्पको उद्धार गरेर सुरक्षित स्थानमा छाडिदिनु हो ।

चितवनका ४४ वर्षीय यामलाल भण्डारीले सर्पको उद्धार तथा संरक्षणमा लागेको ६ वर्ष भयो । उनले घरमा पसेका र घाइते भएका सर्पको उद्धार तथा उपचार गरेर सुरक्षित वासस्थानमा पुर्‍याइदिने काम गर्दै आएका छन् । उनको सिको गर्दै १८ वर्षीय छोरी खुस्बु भण्डारी पनि सर्पको उद्धारमा लागि परेकी छन् ।

यो ६ वर्षको अवधिमा यामलालले हजारभन्दा बढी सर्पको उद्धार गरेको सुनाए । उनले १३ प्रजातिको सर्पलाई समातेर सुरक्षित स्थानमा छोडेको बताउँछन् । सबैभन्दा बढी उनले धामन र अजिंगरको उद्धार गरेका छन् ।

धामन विष रहित सर्प हो । मुख्य गरी यसले मुसा मन खान पराउँछ । त्यही भएर यसलाई ‘र्‍याट स्‍नेक’ पनि भनिन्छ । यो सर्प नेपालका लगभग अधिकांश स्थानमा पाइन्छ । यो सर्प घरआसपास तथा बारीमा धेरै पाइन्छ । त्यही भएर यसको बढी उद्धार आफूले गर्ने गरेको यामलाल बताउँछन् ।

धामन मानिस नजिकैको बस्तीमा बस्न रुचाउने सर्प हो । अन्य सर्पहरुको तुलानामा लामो र केही ठूलो हुने भएकाले यो धेरै देखिने गरेको प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत एवं हर्पिटोलोजिस्ट सन्तोष भट्टराई बताउँछन् । ‘यो घरको धुरीदेखि रुख पनि चढ्छ, मुसा खाना घरमा पनि जान्छ । गाउँको वरीपरी बस्न रुचाउने भएकाले यसलाई धेरै देखिन्छ,’ उनले भने ।

तराईका ओसिलो तथा सिम क्षेत्र अजिंगरको मुख्य बासस्थान हो । सिमसार आसपासमा यो बढी पाइन्छ । धेरैजसो कुखुराको खोर, गाईभैंसीको गोठ, धनसारबाट यामलालले अजिंगरको उद्धार गरेका छन् ।

उद्धार गरेका सर्पलाई उनले गाउँबस्तीभन्दा टाढा वनमा लगेर छाडिदिने गर्छन् । केही सर्पहरुलाई भने उनले वन कार्यालयको जिम्मा पनि लगाउने गरेका छन् । त्यस्ता सर्पलाई वन कार्यालयले नै सुरक्षित बासस्थानमा छाडिदिने गरेको उनी बताउँछन् ।

‘पर्यावरण र वातावरण मिल्ने ठाउँमा उद्धार गरिएको सर्पलाई छाड्नुपर्छ,’ उनले भने, ‘वातावरण र पर्यावरणलाई सर्पले सन्तुलित राख्‍न सहयोग गर्छ । सामान्य रुपमा किसानले उत्पादन गरेको अन्न खाने मुसालाई खाइदिएर सर्पले सन्तुलन कायम गरिदिन्छ । त्यही भएर म उद्धार कार्यमा लागेँ ।’

यामलालको काम देखेर उनकी छोरी खुश्बु पनि उद्धारमा आकर्षित भएकी हुन् । छोरीलाई भने विष रहित सर्पको उद्धारमा मात्रै लगाउने गरेको उनले सुनाए .

कान्तिपुर


क्याटेगोरी : मनाेरञ्जन, रोचक

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस