कारागारभित्रै लागुऔषधको लाखौ कारोबार

कास्कीमा झन्डै ११ हजार लागूऔषध प्रयोगकर्ता छन् । तीमध्ये कम्तीमा ६ हजारले दैनिक एकपल्ट एक सेट लागूऔषध किन्न १५ सय खर्चन्छन् । दिनहुँ ९० लाख रुपैयाँको कारोबार हुन्छ ।

नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंहचौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन् चकित बन्यो जब कारोबार कारागारभित्रैबाट भएको पत्ता लाग्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् । अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँगको बयानमा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् । उनका अनुसार कारागारभित्रै उदयकुमार र पवनकुमारको चिनजान भएको हो । त्यसपछि पवनकुमारकी श्रीमतीले भैरहवाबाट लागूऔषध पठाउने र उदयकुमारकी श्रीमतीले पोखरामा बिक्री गर्ने सहमति भयो । पवनकुमारले श्रीमती मनीषालाई फोन गरेर देवीकुमारीलाई लागूऔषध पठाउन भन्थे । उदयकुमारले आफ्नी श्रीमतीलाई मनीषाका नाममा रकम पठाइदिन फोनबाटै अह्राउँथे । मनीषाले ‘भरिया’ प्रयोग गरी लागूऔषध पोखरा पठाउँथिन् ।

भरियाबाट लागूऔषध बुझेर फर्कने क्रममा कास्की प्रहरीले देवीकुमारीलाई बुधबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डाइजापाम ३ सय, फेनेरागन ३ सय र नर्फिन ३ सय थान बरामद गरेको छ । उक्त लागूऔषध किन्न देवीकुमारीले जेठ १७ मा ३० हजार र जेठ २६ मा ६० हजार गरी ९० हजार रुपैयाँ आईएमई रेमिटमार्फत पठाएको खुलेको छ । उनले यसअघि पनि श्रीमान्ले कारागारभित्रबाटै फोन गरेपछि मनीषालाई पैसा पठाएर लागूऔषध बुझ्ने गरेको स्विकारेकी छन् । उदयकुमार २०७१ मा लागूऔषध मुद्दामा दुई वर्ष कैद भुक्तान गरी निस्किएका थिए । उनी पुनः लागूऔषध कारोबारमै संलग्न भए । गत मंसिरमा उनी आफ्नी प्रेमिका मनु गुरुङसँगै ठूलो मात्रामा नर्फिन, डाइजेपाम, फेनरागनलगायत लागूऔषधसहित पक्राउ परे । कास्की प्रहरीले दुवै जनाबाट दुई निजी कार, १५ सेट मोबाइल, २ लाख ४२ हजार रुपैयाँ नगद बरामद गरेको थियो ।

कास्की प्रहरीले जेठ ८ मा ठूलो मात्रामा लागूऔषधसहित रूपन्देहीका ३ र पोखराका ४ जनालाई पृथ्वीचोकको एक होटलबाट पक्राउ गर्‍यो । रूपन्देहीका रामवृक्ष कोहार, उनकी श्रीमती तेतरी कोहार र बुहारी सोनम कोहर बुरफिनर्फिन, डाइजापाम, नाइट्रोसन चक्कीसहित समातिए । पोखराका लागूऔषध कारोबारी अनील गुरुङ, शुक्रबार सुनार, विक्रम गुरुङ र अजय गुरुङलाई बेच्ने क्रममा उनीहरू पक्राउ परेका थिए । उनीहरूले शरीरका विभिन्न भागमा बेरेर भैरहवाबाट लागूऔषध पोखरासम्म ल्याएका थिए । भारतका सीमावर्ती सहरमा लागूऔषध लिन पोखराका कारोबारी पहिला आफैं जाने गर्थे । प्रहरीले ठाउँठाउँमा जाँच गरेर पक्राउ गर्न थालेपछि ओसारपसारको रूप बदलिएको छ । लागूऔषध नियन्त्रण ब्युरो पोखरा शाखा प्रमुख प्रहरी निरीक्षक टेकबहादुर राउत कारोबारीले भिन्नभिन्न ढंगले ओसारपसार गर्ने गरेको बताउँछन् ।

‘अहिले यताबाट पैसा ट्रान्सफर गर्ने र उताबाट सामान पठाउने गरेको पाइएको छ,’ उनले भने, ‘यस्तो काममा भरिया प्रयोग हुँदै आएका छन् ।’ कतिपय भरियालाई लागूऔषध बोकाएको नै थाहा नहुने उनले बताए । कतिपयले बसमा लुकाइछिपाइ पोखरासम्म लागूऔषध पठाउने गरेको उनी बताउँछन् । ‘नवलपरासी र रूपन्देहीका मानिस बढी भरियाका रूपमा प्रयोग भइरहेका छन्,’ उनले भने, ‘कारोबारीले एउटा जुक्ति असफल भए अर्को नयाँ जुक्ति लगाउँछन् ।’ गत वैशाखमा ब्युरोले मात्रै ४ भरिया पक्राउ गरेको उनले जनाए । भरिया प्रयोग हुँदा मुख्य डिलर पक्राउ गर्न सजिलो नभएको उनले बताए । प्रहरीका अनुसार भरियाले एकपल्ट पोखरा आएर सामान छाडेको ७ देखि १० हजार रुपैयाँसम्म बुझ्छन् ।

औषधिमा प्रयोग हुने नर्फिन, डाइजापाम र फेनरागन मिसाएपछि एक सेट लागूऔषध बन्छ । त्यसैलाई सुईमार्फत प्रयोग गरिन्छ । भारतबाट एक सेट खरिद गर्दा १ सय ५ रुपैयाँ पर्छ । भारतमा सहजै पाइने ती औषधि कारोबारीले नेपाल भित्र्याउँछन् । पोखराका डिलरले भारतीय सीमावर्ती सहर सुनौली, भैरहवा, वीरगन्जबाट एक सेटलाई ३ सय रुपैयाँमा खरिद गर्छन् । त्यहीं सेटलाई पोखरामा १ हजार ५ सय देखि २ हजारदेखि २५ सय रुपैयाँसम्म लागूऔषध प्रयोगकर्तालाई बिक्री गर्छन् । कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker