नेपालमा बाथ रोग बढ्दै, के हो बाथ रोग ? कसरी पहिचान गर्ने ?

पछिल्ला वर्ष नेपालमा बाथ रोगबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ। यो रोगका विषयमा धेरै जानकारी आम मानिससम्म पुग्न अझसम्म पनि बाँकी नै छ। नसर्ने र दीर्घ रोग प्रकृतिको बाथलाई ‘अटोइम्युन डिजिज’ अर्थात् रोग प्रतिरोधात्मक शक्ति कमजोर बनाउने रोगसमेत भनिन्छ।

बाथले कुनै एउटा अंगविशेष मात्र नभई शरीरका विभिन्न अंगमा एकैपटक असर गर्न सक्छ। नङ, छाला, जोर्नीदेखि भित्री अंगहरू फोक्सो, नसा, रक्तनलीलगायतलाई बाथ रोगले असर पुर्‍याउँछ।

धेरै मानिसमा बाथ रोगसम्बन्धी विभिन्न भ्रम पनि छन्। बाथ रोग युरिक एसिडको मात्र समस्या हो भन्ने धेरै मानिसको बुझाइ छ। तर यो मात्र सत्य कुरा भने होइन। धेरै किसिमको बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो। युरिक एसिडले जोर्नीलाई मात्र नभई शरीरका भित्री अंगमा समेत असर पारेको हुन्छ। युरिक एसिडले कलेजोमा बोसो जमाउन सक्छ। मिर्गौलालाई असर गर्न सक्छ भने मिर्गौलाबाट प्रोटिन चुहिएर डायलासिस गर्नुपर्ने अवस्था पनि आउन सक्छ।

बाथ रोगलाई हामीले जति बुझेका छौं, त्यो अपूर्ण छ। बाथले कुनै विशेष उमेर समूहका व्यक्तिलाई मात्र नभई सबै उमेर समूहका व्यक्तिलाई सताउन सक्छ।

बाथ रोग विभिन्न प्रकारका हुन्छन्। गठिया बाथ, लुपस, ढाडको बाथ, र्‍युमाटाइस आरथाइटिस, भास्कुलाइटिस, छाला बाक्लो हुनेलगायतका बाथ रोग बढी देखिने गरेको छ।

चिकित्सा विज्ञानले बाथ रोग लाग्नुको यकिन कारण पत्ता लागउन सकेको छैन। तर वंशाणुगत, ब्याक्टेरिया, वातावरणीय प्रदुषणजस्ता कारणले बाथ रोग लाग्ने गरेको पाइन्छ। बाथको प्रकार फरक भएपनि अधिकांश बाथ रोग जोर्नीबाट सुरु हुन्छ। अलि समयपछि बाथ रोगअनुसार शरीरका विभिन्न अंगलाई असर गर्न थाल्छ यो रोगले। यो विषयमा धेरै बिरामी जानकार हुँदैनन्। अधिकांश बिरामीहरू समस्या बढ्दै गएपछि मात्र अस्पताल आउँछन्।

अधिकांशले रोग पत्ता नलगाई विभिन्न औषधि खाइरहेका हुन्छन्। हाडजोर्नी बिग्रेपछि मात्र अस्पताल जाने पनि धेरै हुन्छन्। पछिल्लो समय सुरुवाती चरणमै बिरामी आउन थालेका छन्। तर धेरैजसो बिरामी हाडजोर्नी बिग्रिएर, भित्री अंगमा असर गर्न थालेपछि मात्र आउने गर्छन्।

सुरुवाती चरणमा बाथ रोगलाई पहिचान गर्न सकियो भने उपचार सहज हुन्छ। हाडजोर्नी बिग्रने समस्याबाट पनि बच्न सकिन्छ। तर जति ढिलो हुन्छ, समस्या त्यति जटिल बन्दै जाने हो। हाडजोर्नी जति कडा हुँदै जान्छ, त्यसले शरीरको भित्री अंगलाई पनि असर गर्दै जान्छ।

बाथ रोगको प्रकारअनुसार फरकफरक लक्षण देखिन्छ। बिना कारण जोर्नी दुख्नु, सुन्निनु र बिहान उठ्दा जोर्नी कक्रक्क हुने लक्षण अधिकांशमा देखापर्छ। ढाडको बाथमा कम्मर दुख्ने, सुत्दा कोल्टे फर्कन गाह्रो हुने हुन्छ।

यसको उपचार पनि बाथ रोगको प्रकार अनुसार नै हुन्छ। बिरामी उपचारमा जति ढिलो आउँछ, त्यति नै महँगो र कडा औषधि चलाउनुपर्छ।

बाथ रोग लाग्दैमा आत्तिइहाल्नु भने पर्दैन। बाथ रोग लागेपछि निको हुँदैन तर नियन्त्रण गर्न भने सकिन्छ। बिरामीले लापरबाही गरे यसको समस्या बढ्न सक्छ। बाथ रोगले अन्य रोगको जोखिमलाई बढाउँछ।

शीघ्र पहिचान नै यसबाट बच्ने उपाय हो। बाथ रोग देखिसकेपछि चिकित्सकको सुझावअनुसार औषधि लिन र उपचार गर्न आवश्यक छ। विभिन्न संक्रमणबाट बच्नु र रोगको लक्षण देखापर्ने बित्तिकै उपचारमा जानु बुद्धिमानी हो। यसबाहेक धुम्रपान नगर्ने, तौल नियन्त्रण गर्ने र संक्रमणबाट बच्नुपर्छ। बाथ रोग छ भने बाथ रोग विशेषज्ञलाई नै देखाउनु सबैभन्दा महत्वपूर्ण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker