ट्रम्पद्धारा मोदीको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीले ‘दुर्लभ कार्यक्रम’ मा उपस्थित दसौं हजार भारतीय मूलका अमेरिकीलाई संयुक्त रूपमा सम्बोधन गरेका छन् ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आयोजित कार्यक्रममा उपस्थित ५० हजार मानिसलाई दुवै नेताले सम्बोधन सोमबार सम्बोधन गरे । अमेरिकामा पोपबाहेक अन्य विदेशी नेतालाई गरिएको यो हालसम्मकै सबैभन्दा भव्य स्वागत भएको आयोजकहरूको दाबी छ ।

कार्यक्रमलाई राष्ट्रपति ट्रम्पले ‘ऐतिहासिक कार्यक्रम’ को संज्ञा दिएका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ‘हाउडी मोदी’ नामक कार्यक्रममा मोदीले भने, ‘भारतमा सब ठीक छ ।’ अमेरिकामा ‘हाउडी’ शब्द बोलीचालीको भाषामा हालखबर सोध्न प्रयोग गरिन्छ ।

कतिपय जानकारहरूले ‘हाउडी मोदी’ लाई अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतीय चुनावसँग जोडेर पनि हेरेका छन् । चुनावमा अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दै छन् ।

यद्यपि, मोदीले संयुक्त राष्ट्रसंघमा न्यानो अभिवादन पाउनेमा आशंका छ । मोदीले भारत प्रशासित कश्मीरमा पछिल्लो समय जारी तनावका कारण चर्को आलोचना खेप्ने अनुमान गरिएको छ । कश्मीरको विशेषाधिकार खारेजीको निर्णयसँगै भारतले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । त्यसका साथै ठूलो संख्यामा अधिकारकर्मी, राजनीतिज्ञ र व्यावसायिक नेतालाई थुनामा राखिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको एक साता लामो अमेरिका भ्रमणका क्रममा उनले व्यापार वार्तामा सहभागी हुनुका साथै राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने छन् । नरेन्द्र मोदीको कश्मीर मुद्दामा निकै आक्रमक देखिँदै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि राष्ट्रसंघीय महासभामा उपस्थित हुँदै छन् । मोदीले जस्तै खानले पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग एक्लाएक्लै भेटवार्ता गर्दै छन् ।

सोमबार आयोजित ९० मिनेट लामो कार्यक्रममा विभिन्न प्रस्तुतिले मोदी र ट्रम्पलाई स्वागत गरिएको थियो । मोदीले आफ्नो सम्बोधनको सुरुमा ट्रम्पको प्रशंसा गर्दै भने, ‘हामीसमक्ष विशेष व्यक्ति उपस्थित हुनुहुन्छ । जसलाई परिचय आवश्यक छैन । विश्वका हरेक व्यक्तिले उहाँको बारेमा जान्दछन् । अमेरिकाजस्तो महान् देशको सबैभन्दा उच्च पदमा बस्नुअघि पनि मानिस उहाँबारे जानकार थिए ।’

मोदीले आफूले ट्रम्पसँग कैयौंपटक भेटेको र उनमा आत्मीयता पाएको बताए । सन् २०२० मा हुने राष्ट्रपतीय चुनावमा ट्रम्प पुनः विजयी हुने मोदीको दाबी छ । सम्बोधनपछि मोदीले ट्रम्पलाई सम्बोधनका निम्ति आमन्त्रण गर्दै भने, ‘उहाँलाई सम्मान गर्न पाउनु मेरा लागि निकै खुसीको कुरा हो ।’

प्रधानमन्त्री मोदीले जम्मु–कश्मीरलाई विशेष मान्यता दिएको संविधानको प्रावधान अन्त्य गरिएकाले त्यस क्षेत्रका मानिसलाई अन्य भारतीय बराबरको अधिकार प्राप्त भएको दाबी गरे । सम्बोधनकै क्रममा मोदीले ‘पाकिस्तानीले भारतप्रतिको घृणालाई राजनीतिको केन्द्र बनाएका’ आरोप लगाए । उनले भने, ‘जो आतंकका समर्थक हुन्, जसले ‘आतंकको पालनपोषण गर्छन् । त्ययसलाई तपाईंहरूले मात्र नभई संसारले चिनेको छ ।’

मोदीपछि बोल्दै ट्रम्पले भारतीय मूलका अमेरिकी समुदायलाई धन्यवाद दिए । त्यसका साथै उनले भारतमा हालै सम्पन्न लोकसभा चुनावमार्फत् दोस्रो कार्यकालका लागि सत्तामा पुगेकोमा मोदीलाई बधाई दिए ।
‘भारत र अमेरिकाको साझा सपनाबारे म र नरेन्द्र मोदी बेलाबेला कुराकानी गर्छौं ।’ भारतीय मूलका अमेरिकीले देशको संस्कृति र मूल्य मान्यतालाई सुदृढ पारेका छन् । तपार्इंहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौं ।’

ट्रम्पले मोदीलाई अमेरिकाको निष्ठावान्, इमानदार र महान् मित्रको संज्ञा दिए । मोदीको योजनाका कारण भारतमा ३० करोड मानिस गरिबीबाट माथि उठेको ट्रम्पको दाबी छ । उनले भने, भारतमा आगामी १० वर्षमा १४ करोड मानिस मध्यमवर्गमा उक्लिने छन् । अमेरिका र भारतका जनता सम्पन्न भइरहेको हामीले देखिरहेका छौं ।’
ट्रम्पले भारतसँगको सुरक्षा सहयोगको प्रसंग उल्लेख गर्दै छिट्टै रक्षा सम्झौता गरिने बताए । उनका अनुसार आगामी नोभेम्बरमा भारत र अमेरिकाका जल, स्थल र वायु सेनाको संयुक्त युद्ध अभ्यास हुने छ ।

ट्रम्पको सम्बोधनलगत्तै मोदी र कार्यक्रममा उपस्थित मानिसले उभिएर ताली बजाएका थिए । आफ्नो भाषण जारी राख्दै ट्रम्पले भने, ‘आफ्ना नागरिकको रक्षा गर्न हामीले सीमाको रक्षा गर्नुपर्छ ।’ अमेरिका र भारतका लागि सीमासुरक्षा निकै महत्त्वपूर्ण रहेको ट्रम्पको भनाइ छ ।

ट्रम्पले आफू अवैध रूपमा अमेरिका प्रवेश गरेका आप्रवासीले वैध रूपमा पुगेकाको हक अधिकार नखोसून् भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘जसले अमेरिकाको नियम कानुनको सम्मान गर्छ, कर तिर्छ, तिनको अधिकार खोसेर अवैध आप्रवासीलाई दिन सकिँदैन ।’

त्यति ठूलो संख्यामा उपस्थित भारतीय मूलका अमेरिकीलाई सम्बोधन गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ह्युस्टनस्थित एनआरजी स्टेडियममा कार्यक्रम भइरहँदा केही प्रदर्शनकारीले मोदी र ट्रम्पको विरोधसमेत गरेका थिए ।

सम्बोधनको अन्त्यमा ट्रम्पले मोदीलाई धन्यवाद दिए । उनले भने, ‘एक महान् व्यक्ति र एक महान् नेता, मेरा मित्र नरेन्द्र मोदीलाई धन्यवाद ।’ त्यसपछि मोदी पुनः मञ्चमा पुगेर भने, ‘कार्यक्रमको नाम नै ‘हाउडी मोदी’ छ । यसको उत्तर म दिन्छु, ‘सब ठीक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker