Techie IT

इजरायलमा रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा आज


इजरायलको रोजगारीमा जान इच्छुक नेपालीका लागि आज भाषा परीक्षा हुँदैछ ।

भाषा परीक्षाका लागि काठमाण्डौमा ११ वटा केन्द्र तोकिएका छन् । ११ ठाउँका १६ परीक्षा केन्द्रमा दिउँसो १ बजे भाषा परीक्षामा ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ महिला रहने वैदेशिक रोजगार विभागले जनाएको छ ।

परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका छन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षा हुन लागेको हो ।

रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिन लागेका हुन् । भाषा परीक्षा सुरु हुनु ३ घण्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ ।

परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।

वैदेशिक रोजगार विभागले २ दिनभित्र कम्प्युटरको माध्यमबाट परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । प्रश्नपत्र कम्प्युटर प्रणालीबाट गरिने भएकाले शङ्का गर्नुपर्ने ठाउँ नभएको विभागले जनाएको छ ।

भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस