Techie IT

प्रेमको चरम रूप नै यौन


प्रेम करुणा होइन भावना हो । यो हरेक मानिसको जीवनको एक हिस्सा हो । जीवन भनेको मात्र शरीर होइन । मानिसको भोगाइ र व्यवहार हो । एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मका भोगाइ र अनुभूतिको समग्रता नै त्यो व्यक्तिको जीवन हो । जसभित्र प्रेम पनि पर्छ ।

प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्ण मात्र हुँदैन । प्रेमबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन । प्रेम, सहानुभूतिले सम्बन्धमा नयाँपन ल्याउँछ ।

त्यसैगरी प्रेम र यौन पनि एकअर्काका पूरक हुन् । कतिपय मानिस प्रेम र यौनलाई छुट्टा–छुट्टै रूपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत मान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरू त यौनलाई विकृति नै पनि भन्छन् । आफू यौन समागमबाटै जन्मिएर पनि यौनलाई छिछि र दूरदूर गर्ने विद्वत् वर्ग पनि ठूलै छ । यद्यपि यौन र प्रेम फरक विषय होइनन्  । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रूप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्न सकिँदैन ।

हृदयको सच्चा समर्पण नै प्रेम हो । प्रेम सच्चा र यथार्थ भयो भने यौन सुरु हुन सक्छ । प्रेम गर्छु भनेर गरिने चिज पनि होइन यो थाहै नपाई हुने चिज हो । यौन विपरीत लिंगीलाई आकर्षण गर्ने माध्यम हो । मान्छे आनन्द प्राप्तिकै लागि बढी यौन क्रियाकलापमा संलग्न हुने गर्छ । यसै क्रममा गर्भाधानसमेत हुन्छ ।

भालेले पोथीलाई र पोथीले भालेलाई आफूतिर आकर्षित गर्न खोज्दा यौनको भूमिका महत्वपूर्ण हुन्छ । यौनले प्रणयभावलाई सघन र प्रबल बनाउने भूमिका पनि खेल्छ । विपरीत लिंगी प्रेमको उत्कर्ष यौन नै हो । त्यसो त समलिंगी र तेस्रो लिंगी बीचको प्रेममा पनि यौनको भूमिका उत्तिकै छ । दाम्पत्य जीवनको सफलता वा असफलतामा यौनले प्रमुख भूमिका खेलेको हुन्छ । यसर्थमा यौनलाई जीवनबाट पृथक् गर्न किमार्थ सकिँदैन ।

हामीले बेलाबेलामा यौन विकृतिका घटनाहरू आफ्नै समाजमा देख्ने वा सञ्चारमाध्यममा सुन्ने र पढ्ने गर्छाैँ । यौन कुण्ठा, अतृप्ति, अप्राप्ति वा असन्तुष्टिहरूका कारण खासगरी बलत्कारका घटनाहरू घटित हुन्छन् । यस्ता घटना अत्यन्त निन्दनीय र भत्र्सनायोग्य हुन् तापनि यौन कुण्ठितहरूबाट यस प्रकारका कुकर्म अर्थात् यौन दुराचार भइरहन्छन् । यसबाट प्रत्यक्ष रूपमा महिलाहरू प्रताडित हुन्छन् ।

समाजमा हुने महिला हिंसाका घटनाहरूमध्ये बलात्कारका घटना प्रमुख मानिन्छन् । कैयौँ बालिका, कुमारी, युवती, वयस्क महिला र वृद्ध महिलासमेत बलात्कृत भएका घटनाहरू बेलाबेलामा समाचार बनिरहेका हुन्छन् । बलात्कृत भएकै कारण कतिपयको मृत्यु हुन्छ, कतिपयले आत्महत्या गर्छन् र कतिपय विक्षिप्त अवस्थामा पुग्छन् । यसरी नै कतिपयको सामाजिक जीवनको प्रतिष्ठामा नै असर पर्छ ।

वास्तवमा यौनसँग सम्बन्धित यस्ता पक्ष घृणायोग्य छन् । यस्तो यौन दुराचार पशुवत् नै मानिन्छ । यस्तो कुकर्म गर्नेहरू सामाजिक र कानुनी रूपमा दण्डित हुन्छन् तापिन समाजमा यस्ता दुराचारको पुनरावृत्ति भइरहेकै हुन्छ । यस्तो हुनुको प्रमुख कारण यौन कुण्ठाको परिणति हो ।

यौन वास्तवमा अजेय इच्छाशक्ति हो । धार्मिक जगत्का मान्छेहरूले यौनप्रति वितृष्णा जनाएका हुन्छन् । यस्तो वितृष्णा बाह्य आडम्बर मात्र हो । उनीहरू भित्र पनि यौन चाहना लुकेर रहेको हुन्छ ।

यौनलाई सकारात्मक ढंगले लिँदा यसले सृष्टिलाई निरन्तरता दिन्छ र जीवनलाई सार्थक तुल्याउँछ । यदि अप्राकृत, अनैतिक र अशिष्ट ढंगले उपभोग गर्न खोजेमा यसको परिणाम अवश्य नै नकारात्मक निस्कन्छ । अतः यौनलाई जीवन सापेक्ष ढंगले हेर्नु राम्रो हुन्छ ।
बलात्कार, वेश्यावृत्ति (देह व्यापार), अप्राकृतिक मैथुन जस्ता कुराहरू यौन विकृतिका द्योतक हुन् । –विभिन्न पत्रपत्रिकाको सहयोगमा


क्याटेगोरी : जीवन शैली

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस