Techie IT

अछामका बिरचदे, जो जीवनभर भारतमा चौकीदार, अहिले ओत लाग्ने ठाउँ छैन !


इन्द्रसरा खड्का, काठमाण्डौँ

“उमेर थियो, शक्ति थियो, पहाड नै उचाल्छु भन्ने जाँगर थियो, भारतको गल्ली चहारें । उमेर ओरालो लाग्यो, ताकत सकियो अनि घर फर्कें । भारतले मेरो बैंस र पसिना लुट्यो, फर्कंदा रित्तो हात आएँ । अहिले परिवारकै बोझ भएको छु ।” जीवनको अधिकांश समय भारतमै बिताउनुभएका बिरचदे कडायतले भन्नुभयो ।

बिरचदेको घर अछामको मेल्लेख गाउँपालिका– ६ मा हो । टाउकोमा ढाका टोपी, हातमा लट्ठी, खुम्चिएको निधार, चाउरिएका गाला अनि सेताम्य दारी–कपाल । ८२ वर्षीय बिरचदेको परिचय यही हो ।

खेतबारीको काम गर्न सक्नुहुन्न । गाउँमा काम नगरी खान पाइँदैन । न आफ्ना छोराछोरी, न श्रीमती ! अरूको घरमा त्यत्तिकै खान पाइँदैन । पाखुरामा बल हुँदा भारतमा रमाएका उहाँलाई अहिले आफ्नै जीवनदेखि दिक्दार लाग्छ । सकेजति अहिले पनि काम गर्नुहुन्छ ।

भारतमा चौकीदारी गर्नु नेपालीको बाध्यता हो । अझै भनुँ, अछामीहरूको जागिर नै हो । अहिले पनि थुप्रै अछामीहरूको रोजीरोटी भारतकै चौकीदारी कामले चलेको छ । ८२ वर्षका बिरचदेले आफ्नो उमेरको ५५ वर्ष बढी समय भारतमै बिताउनुभयो । “वेला–वेलामा घर आउने–जाने त भइरहन्थ्यो । आएको वेला चाहिं ५/६ महिना बसिन्थ्यो,” त्यो वेलाको स्मरण गर्दै बिरचदेले भन्नुभयो ।

भारतमा बस्दा न उहाँको घरबार रह्यो न घरबास नै । अहिले उहाँ कहिले दाइको छोराको घरमा त कहिले भाइको छोराको घरमा बसी गुजारा गर्नुहुन्छ ।

बिरचदेको परिवार

बिरचदे सानो हुँदा परिवार खुशी थियो सुखी थियो । आमाबुवा र चारजना दाजुभाइ थिए । बुवाको जीवन पनि भारतमै चौकीदारी गरेर बित्यो । दाजुभाइ पनि वेलाबखत उतै गएर चौकीदारी गर्थे । अहिले दुईजना दाजुभाइको मृत्यु भइसकेको छ । आमाबुवाको मृत्यु पहिले नै भइसकेको हो । बिरचदेको आफ्नो परिवार छैन । सानैमा भारत पसेका उहाँको पहिलो घरबार टिकेन । पछि उहाँले विवाह नै गर्नुभएन ।

बिरचदे भारत जानुको मुख्य कारण बुवाको अर्को बिहे थियो । त्यहाँ गएकै दिन उहाँका बुवाले ‘यो मेरो छोरा हो’ भन्दै दोस्री श्रीमतीसँग परिचय गराउनुभयो । बिरचदेलाई सौतेनी आमाले आफ्नै छोराजस्तै माया गर्न थाल्नुभयो । जुन रिसले जानुभएको थियो तिनै मायालाग्दी लागिन् । यसपछि बुवासँग दोस्रो बिहेबारे कुरै गर्न सक्नुभएन ।

बिरचदे १४ वर्षको हुँदा आफ्नो गाउँ नजिकैको झणीगाउँकी १२ वर्षकी केटीसँग बिहे भयो । त्यो वेला सानै उमेरमा परिवारले बिहे गराइदिन्थे । १४ वर्षको छँदा बिहे गर्नुभएका बिरचदे १५ वर्षको उमेरमा भारत पस्नुभयो । उहाँ भारत गएपछि उहाँकी श्रीमती माइती गएर बस्नुभयो । दुई वर्षपछि घर फर्कंदा श्रीमती अर्कैसँग पोइल गइसक्नुभएको थियो । त्यसपछि बिरचदेले कहिल्यै बिहे गर्नुभएन ।

घरबाट भागेर भारत

त्यो वेला घरको खबर भारत र भारतको खबर गाउँ पुग्न महिनौं लाग्थ्यो । कुनै मान्छे मरेको खबर दिनुपरे चिठी लेखर पट्याइसकेपछि छेउमा प्वाल पारेर रातो धागो झुण्ड्याउने अनि अलिकति पोलेर पठाइन्थ्यो । यसो गर्दा मान्छे मरेको खबर हो भन्ने थाहा हुन्थ्यो र अलि छिटो पुग्थ्यो ।

बिरचदेका बुवा भारतमै हुनुहुन्थ्यो । उहाँले भारतमै देश्यानी (उतैको केटी) सँग बिहे गरेको खबर गाउँमा पुग्यो । यो कुराले आमा रुन थाल्नुभयो । बिरचदेलाई आमा रोएको हेर्न गाह्रो भयो । घरमा आमा हुँदाहुँदै बुवाले किन दोस्रो बिहे गरे भन्ने बुझ्न/सोध्न घरबाट भागेर भारत जानुभयो । घरबाट भाग्दा एक माना चामल र २४ रुपैयाँ चोरेर निस्कनुभयो । त्यही पैसाले उहाँ भारतको मुम्बइस्थित मलाड पुग्नुभयो ।

हिंडेरै भारतसम्मको यात्रा

अहिलेजस्तो उतिवेला गाडीको सुविधा थिएन । घरमा चाहिने कपडा, नुनतेल ल्याउन पनि भारतको टनकपुर जानुपर्ने बाध्यता थियो । नुनतेल लिन टनकपुर जानुलाई गाउँघरबासी हाट जाने भन्थे । हाट जानुपर्दा गाउँका मानिस समूहमा जान्थे । पकाउने, खाने लगायतका सरसामग्री बोकेर ७/८ दिन लगाएर भारतको टनकपुरबाट लुगाफाटा, नुन लगायतका सामान किनेर ल्याउँथे ।

बिरचदेलाई आजभन्दा ६८ वर्ष पहिले घरबाट भारतको मुम्बइ पुग्न १० दिन लाग्यो । उहाँलाई भारत जाने बाटो थाहा थिएन । बाटोमा सोध्दै–सोध्दै उहाँ टनकपुर पुग्नुभयो । उहाँको घर शोडषाबाट अछामको सिउँडीसोकोट हुँदै उहाँ एक दिनमा डोटीको झिंगाबस्ती भन्ने ठाउँमा पुग्नुभयो ।

त्यस दिन उहाँ स्थानीयकोमा बास मागेर बस्नुभयो । स्थानीयसँग बाटो सोध्दै दोस्रो दिन डोटीको तेलेको लेक, तेस्रो दिन गड्सेरा, चौथो दिन कैलालीको भातकाँडा, पाँचौं दिन मुसुरीखेत हुँदै छैटौं दिनमा उहाँ भारतको टनकपुर हिंडेरै पुग्नुभयो ।

टनकपुर कञ्चनपुरको काली नदी पारि पर्छ । छैटौं दिन टनकपुरमा बसेर भोलिपल्ट गाडी चढेर मुम्बइतर्फ लाग्नुभयो । टनकपुरबाट मुम्बइ पुग्न गाडीमा तीन दिन लाग्छ । बिरचदेले बुवा बस्ने ठेगाना बोक्नुभएको थियो । ठेगाना थियो– ‘शक्ति कम्पनी, छिन्चौली नाका, मलाड, मुम्बइ’ । बिरचदेले मुम्बइ झरेर त्यो ठेगाना खोज्दै तीन दिनपछि बुवालाई भेट्नुभयो ।

‘देश्यानी’ आमाको माया

बिरचदे भारत जानुको मुख्य कारण बुवाको अर्को बिहे थियो । त्यहाँ गएकै दिन उहाँका बुवाले ‘यो मेरो छोरा हो’ भन्दै दोस्री श्रीमतीसँग परिचय गराउनुभयो । बिरचदेलाई सौतेनी आमाले आफ्नै छोराजस्तै माया गर्न थाल्नुभयो । लुगा–कपडा सफा गर्नेदेखि लिएर खान–बस्नमा आफ्नै आमाको जस्तो माया गरेपछि बिरचदेले बुवासँग दोस्रो बिहेबारे कुरा गर्न सक्नुभएन । “म जुन रिसले गएको थिएँ, त्यहाँ पुगेपछि माया लागेर आयो । मलाई तिनै आमा मन परिन् । त्यसपछि मैले यो कुरा नै गरिनँ,” बिरचदेले भन्नुभयो ।

‘वाचम्यान’को काम

मुम्बइ पुगेपछि बिरचदेले ‘वाचम्यन’को काम पाउनुभयो । बुवाको नोकरी नजिकैको घरमा उहाँले काम गर्नुहुन्थ्यो । दिनभरि गेटमा बसिराख्नुपर्ने, घरको हेरविचार गर्नुपर्ने काम थियो । काम गरेबापतको पैसाले खान–लाउन पुग्थ्यो । “बुवा थिए, देश्यानी आमा थिइन्, पैसा कमाएर जम्मा गर्नुपर्ने पनि थिएन, राम्रै थियो,” भारतमा गएर पहिलो काम गर्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।

पहिले हप्तौं हिंडेर भारत पुग्नुभएका बिरचदेलाई अब घरबाटै गाडी चढेर भारत जाने धोको छ । सेटले उहाँलाई अहिले पनि वेला–वेला फोन गरिरहनुहुन्छ । “आफ्नो जिन्दगीको पर्बाह नगरी जीवनभर सेटकै सेवा गरें । अब मर्नुअघि सेटलाई भेट्ने इच्छा छ,” उहाँले भन्नुभयो ।

बिरचदे डेढ वर्ष भारत बसेर फर्कनुभयो । त्यो वेला भारतमा मजदुरी गरी गाउँ आउनेहरूको सानै अलग हुन्थ्यो । काँधमा ठूलो टेप, नयाँ कपडा, उस्तै वासना आउने तेल ! आफू पनि पहिलो पटक त्यसैगरी घर फर्केको बताउँदै बिरचदेले भन्नुभयो, “पैदल यात्रा गरेरै ५० किलो सामान पनि ल्याएको हुँ ।”

जीवनभर भारतमै चौकीदार !

पहिलो पटक भारत बसेर फर्किसकेपछि बिरचदे १८ वर्षको उमेरमा फेरि भारत जानुभयो । त्यो पटक उहाँ १४ वर्ष भारतको गोआमा बस्नुभयो । त्यहाँ पनि वाचम्यानकै काम गर्नुभयो । १४ वर्षमा गाउँ फर्केपछि दुई/चार महिना गाउँमै बसेर फेरि उतै जानुभयो । यस्तै आउने–जाने क्रम चलिरह्यो ।

भारतका विभिन्न ठाउँ काम गर्नुभएका बिरचदे भन्नुहुन्छ, “भारतमा काम गर्दा सुख, दुःख दुवै हुन्छ । राम्रो मालिक र राम्रो काम मिल्यो भने राम्रै हुन्छ, नत्र नराम्रो पनि हुनसक्छ ।” उहाँका धेरै साथीले मालिकबाट यातना पाउँथे । काम गरेको पैसा समयमा पाउँदैनथे । रातको समयमा चौकीदारी गर्नेलाई गुण्डा, डाँकाबाट डर हुन्थ्यो । तर, बिरचदेले भने काम गर्दा खासै दुःख पाउनुभएन ।

अहिले दुई वर्ष भयो बिरचदे घरमै बस्नुभएको छ । “कति साथी एचआईभी लागेर मरे, कति रोग बोकेर घर आए, म अहिलेसम्म स्वस्थ्य छु, सेटले पनि मलाई माया गर्थ्यो,” उहाँ भन्नुहुन्छ ।

सेटलाई भेट्ने धोको

पहिले हप्तौं हिंडेर भारत पुग्नुभएका बिरचदेलाई अब घरबाटै गाडी चढेर भारत जाने धोको छ । सेटले उहाँलाई अहिले पनि वेला–वेला फोन गरिरहनुहुन्छ । “आफ्नो जिन्दगीको पर्बाह नगरी जीवनभर सेटकै सेवा गरें । अब मर्नुअघि सेटलाई भेट्ने इच्छा छ,” उहाँले भन्नुभयो ।

आउँदो चैतमा भेट्न आउने कुरा सेटसँग गरेका बिरचदे फेरि भारत जाने योजनामा हुनुहुन्छ । “जोश थियो, जाँगर थियो, भारतमा रमाएँ । अहिले मर्ने वेला घरमा आएको छु । आफ्नो परिवार छैन, अरूको घरमा कति बस्नु ! ऊ वेला कमाएको पैसा उनीहरूकै लागि खर्चें, अहिले कोही देख्दैनन्,” बुढेसकालको दुःख सुनाउँदै बिरचदे निराश देखिनुभयो ।

नेपालमतबाट सभार गरिएको हो ।


क्याटेगोरी : जीवन शैली, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस