बाघ संरक्षणमा नेपाल विश्वकै पहिलो देश बन्ने सम्भावना

बाघ संरक्षणमा नेपाल विश्वकै पहिलो देश बन्ने सम्भावना बढेर गएको छ । १० वर्षमा पाटे बाघको संख्या १ सय २१ बाट बढेर २ सय ३५ पुगेकाले यही अवस्था रहेमा नेपाल बाघ संरक्षणमा विश्वकै पहिले देश बन्ने सरकारको भनाई छ ।
विश्वमा बाघ पाइने देशहरुको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता जनाउँदाको बेला नेपालमा बाघको संख्या १ सय २१ थियो । अहिले बाघको संख्या बढेर २ सय ३५ पुगेको छ । अबको तीन वर्षमा संरक्षण प्रभावकारी भएमा नेपाल विश्वका अरु देशमध्ये प्रतिबद्धता पूरा गर्ने पहिले देश बन्ने छ ।
‘यही अवस्था रह्यो र महाविपत्ती भएन भने बाघको संख्या दोब्बर पुग्ने निश्चित छ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यतिबेलाको संख्याबाट दोब्बर बनाउने भनेको २ सय ४२ पुर्याउने हो, अहिले नै २ सय ३५ पुगिसकेको छ, बाँकी ७ वटा बाघ पुर्याउन कुनै कठिनाई छैन ।’
उहाँका अनुसार अहिले भएकै बाघका बच्चा अर्थात डमरु हुर्काउन सकेमा मात्रै पनि संख्या दोब्बर बनाउने लक्ष्य भेट्न गाह्रो छैन । गणना गर्दा दुई वर्षमाथिका बयस्क बाघको मात्रै गणना गरिन्छ । डमरुको गणना गरिंदैन । ‘पोहोरको गणनामा हामीले १५र२० वटा जति त डमरु देखेका थियौं, जुन गणनामा समावेश छैन’ भट्टराईले भन्नुभयो, ‘ती डमरु हुर्काउन सक्दा मात्रै पनि हामी लक्ष्य भेट्न सक्छौं, जुन त्यति गाह्रो छैन ।’ ujyaaloonline