प्रशासकीय अधिकृत र एक लेखापालको भरमा स्थानीय सरकार

जाजरकोट — प्राविधिकबाहेक ३७ कर्मचारीको दरबन्दी रहेको बारेकोट गाउँपालिकामा दुई जना मात्र छन् । सबै काम प्रमुख प्रशासकीय अधिकृत र एक लेखापालको थाप्लोमा छ । ९ वडामध्ये एउटामा पनि सचिव छैनन् । कुशे गाउँपालिकामा एक वडासचिवले सबैतिर धाउनुपर्ने बाध्यता छ ।

समायोजनपछि जिल्लाका सातवटै स्थानीय सरकार कर्मचारी अभाव छ । कुशे गाउँपालिकामा प्राविधिकबाहेक ३७ जनाको दरबन्दी छ । अहिले प्रमुख प्रशासकीय अधिकृत, दुई नायब सुब्बा र दुई लेखापालबाहेक छैनन् । कर्मचारी नभएर सेवा प्रवाहमा सास्ती भइरहेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ‘गाउँपालिका कर्मचारीविहीन बनेको छ,’ उनले भने, ‘जनप्रतिनिधिले मात्रै केही गर्न सक्ने अवस्था छैन ।’

जुनीचाँदे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र ३ वडासचिव गरी ५ कर्मचारी छन् । ५५ जनाको दरबन्दी भएको छेडागाड नगरपालिकामा प्राविधिकसमेत १६ कर्मचारी छन् । वडासचिवलगायत अभावले स्थानीय तहको सेवा प्रवाह कमजोर बनेको छ ।

अधिकांश स्थानीय सरकार १र२ जना वडासचिवका भरमा छन् । गाउँगाउँमा नाम मात्रका वडा कार्यालय राखिएका छन् । कार्यालय फर्निचर, सोलार, कम्प्युटरलगायत सामग्रीले भरिभराउ छन् । कर्मचारी नहुँदा सेवा प्रवाह हुन सकेको छैन । स्थानीयलाई सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

१३ वडा भएको नलगाड नगरपालिकामा ५५ मध्ये ३ वडासचिव र करारसहित १३ कर्मचारी छन् । ५५ दरबन्दी रहेको भेरी नगरपालिका प्राविधिक, करारलगायत २९ कर्मचारीको भरमा चलिरहेको छ । अधिकांश गाउँरनगरपालिकामा वडासचिवले आलोपालो गरेर काम गर्नुपर्ने बाध्यता छ । कर्मचारी अभावमा योजना तर्जुमा, कार्यान्वयन, ऐनरकानुन बनाउनेलगायत काम अलपत्र छन् ।

जिल्लाभर ७७ वडासचिव आवश्यक पर्नेमा मुस्किलले १५ जना मात्र रहेको जिल्ला समन्वय समिति प्रमुख मनबहादुर रावलले बताए । ‘वडासचिवसमेत नहुँदा सेवाग्राहीलाई सदरमुकाम धाउनुको विकल्प छैन,’ उनले भने, ‘करारमा राखिएका कर्मचारीचाहिँ कामविहीन बनेका छन् ।’ उनका अनुसार विवाह, जन्म, मृत्यु, बसाइँसराइलगायत पञ्जीकरणका काम गर्न स्थायी कर्मचारी हुनुपर्ने प्रावधान छ । ७वटा स्थानीय तहमा २ सय ५० कर्मचारी अभाव देखिएको उनले जानकारी दिए ।

कतिपय वडासचिवले पञ्जीकरणका लागि खाली कागजमा दस्तखत गरेर गाउँ पठाउने गरेका छन् । गाउँमा रहेका करार र अस्थायी कर्मचारीले उक्त खाली कागजमा पञ्जीकरणका लागि सिफारिस गर्नुपर्ने बाध्यता छ । जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको छाप र कागज बोकेर सदरमुकाम बस्न बाध्य हुनुपरेको बारेकोट–९ का वडाध्यक्ष शशिराम गौतमले बताए । सबै काम सदरमुकामबाटै हुने भएकाले खलंगामै बस्ने गरेको उनको भनाइ छ । ‘गाउँमा कर्मचारी छैनन्, सेवाग्राहीलाई कामकाजका लागि सिधै खलंगा बोलाउने गरेको छु,’ उनले भने, ‘सेवाग्राही त समस्यामा छन् नै हामीले पनि सास्ती भोग्नुपरेको छ ।’

कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाको सेवा प्रवाह सदरमुकामबाटै भइरहेको छ । कतिपय सेवाग्राहीको कार्यालय खोज्दैमा दिन बित्ने गरेको स्थानीय उदय खड्काले बताए । ‘वडाध्यक्ष फेला परे सचिव फेला पर्दैनन्, सचिव भेटिए अध्यक्ष हुँदैनन्,’ उनले भने, ‘स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबारको नारा दिए पनि हामीले थप सास्ती भोग्नुपर्ने बाध्यता छ ।’ उनले साविक गाविस कार्यालयले दिने सुविधासमेत स्थानीयले पाउन नसकेको गुनासो गरे । kantiurdealyबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker