आज ७० औँ प्रजातन्त्र दिवस:मुलुकभर विविध कार्यक्रम

७० औँ प्रजातन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
७० औँ प्रजातन्त्र दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ प्रजातन्त्र दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ भने सबै जिल्लामा पनि यो दिवस मनाइँदै छ ।
७०औँ दिवस मूलसमारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना हुँदैछ । आज नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति प्रार्थना र स्मरण गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
प्रजातन्त्र दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै भण्डारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभएको छ ।
सबैलाई एकजुट हुन प्रधानमन्त्री ओलीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गर्नुभएको छ ।
वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको उल्लेख गर्नुभएको छ ।
लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उहाँको भनाइ छ । CIN
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस