Techie IT

भारतबाट घर फर्किएका अछामका ५० जना ‘क्वारेन्टाइन’ मा


कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रणका लागि भारतबाट घर फर्किएका ५० जनालाई सदरमुकामस्थित तयार पारिएको ‘क्वारेन्टाइन’ मा राखिएको छ ।

भारतबाट कैलालीको गौरिफन्टाबाट ल्याएर सिमामा रोकिएका अछामका बसमा सर्वसाधरणलाई ल्याएर कृषि विकास कार्यालयको खाली भवनमा स्थापित क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका मध्येमा १० महिला, १२ बालबालिका र २८ पुरुष रहेका छन् । मंगलसेन नगरपालिकाका ११, चौरपाटी गाउँपालिका १०, कमलजबार र ढकारी गाउँपालिकाका आठ÷आठ जना, मेल्लेख गाउँपलिकाका छ जना, साँफेबगर नगरपालिकाका तीन जना, रामारोशन गाउँपालिकाका दुई जना र पञ्चदेवल विनायक नगरपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको ज्वरोको स्थिती जाँचेर अलग्गै ओछ्यानमा १४ दिन राखिने भएको छ । क्वारेन्टाइन रहेकै स्थानमा मंगलसेन नगरपालिकाले स्वास्थ्य केन्द्र (हेल्थ डेक्स) समेत स्थापना गरेको छ ।

हरेका दिन उनीहरुको स्वास्थ्य परीक्षण पश्चात १४ दिनपछि घर पठाइने बताइएको छ । १४ दिनको अवधिमा कसैलाई कोरोनाको लक्ष्यण देखा परेका जिल्ला अस्पतालमा रहेका आइसोलेशन कक्षमा भर्ना गरिने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अतुल भारद्धाजले जानकारी दिनुभयो ।

क्वारेन्टाइन बस्ने अवधिसम्म सबै जनाको खानासहितको सबै खर्च मंगलसेन नगरपालिकाले व्यहोर्ने भएको छ । ‘क्वारेन्टाइन’ बाहिर प्रहरीले चौबिसै घण्टा सुरक्षा दिने भएको छ । भारतमा काम गर्ने अधिकाँस अछामका बासिन्दा घर फर्केपछि जिल्ला कोरोना भाइरसको सम्भावित उच्च जोखिममा रहेको विश्लेषण गर्न थालिएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!