षोडशा भूतपुर्व विद्यार्थी समाजद्वारा ३ सय जनालाई राहत वितरण

अछाम जिल्लाको सदरमुकाम मंगलसैनमा रहेको एक पुरानो र जिल्लाकै प्रमुख विद्यालयमध्येको एक षोडशा उच्च माध्यामिक विद्यालयका पूर्व विद्यार्थीको पहलमा राजधानीमा रहेका अछामी विद्यार्थीलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयको पूर्व विद्यार्थी समाजले राहत वितरण गरेको हो ।

स्थापना भएको डेढ वर्षदेखि विभिन्न विद्यालयको शैक्षिक गुणस्तर बढाउन र सामाजिक क्षेत्रमासमेत महत्वपूर्ण काम गर्दै आइरहेको समाजले बिहीबार राजधानीमा आएर विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका विद्यार्थीलाई खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

जिल्लाबाट राजधानी आई मजदुरी पेशामा संलग्न रहेका र लकडाउनका कारण समस्यामा परेका व्यक्तिलाई पनि समाजले राहत वितरण गरेको बताइएको छ । समाजले अध्ययनको शिलशिलामा उपत्यकाका किर्तिपुर, कोटेश्वर, बानेश्वर, सोह्रखुट्टे, महाराजगंज, काँडाघारी, कौशलटार, सूर्यविनायक, राधे राधे, र टिकाथलीमा बसोबास गर्नेलाई उनीहरुको पायक पर्ने स्थानमै पुगेर राहत वितरण गरेको भूतपुर्व विद्यार्थी समाजका अध्यक्ष शंकर भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष भण्डारीका अनुसार जिल्लाका १० वटै स्थानीय तहका राजधानीमा रहेका विद्यार्थीको तथ्यांक संकलन गरी करिब ३०० जनाभन्दा बढीलाई राहत वितरण गरिएको हो ।

षोडशा भुतपूर्व विद्यार्थी समाजले स्थापनाको छोटो अवधिमा विद्यालयमा छात्राबास निर्माणका लागि बजेट विनियोजन गराउन र आईएस्सी एजीको अध्ययन सञ्चालनका लागि प्रदेश सरकारलाई स्वीकृति दिलाउन सफल भएको जनाइएको छ । समाजले विद्यालयलाई आवश्यक पर्ने खेलकुद सामग्री, साउण्ड स्पिकर सहयोग गर्दै आउनुका साथै अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि शैक्षिक सामग्री र ड्रेस प्रदान गर्दै आइरहेको छ ।

यसअघि समाजले मंगलसेन नगरपालिकासँगको सहकार्यमा मंगलसेन नगरपालिका निवासी एक एकल एवं अपाङ्ग महिला कलु उपाध्यायको घर पुनःनिर्माण गर्नुका साथै उनलाई खाद्यान्न तथा लुगालत्तासमेत उपलब्ध गराएको थियो ।

जारी लकडाउनकै बीचमा पनि सरकारले लागू गरेको नियमको पालना गर्दै स्थानीय तहसँगको समन्वयमा प्रतिविद्यार्थी ७ केजी चामल, १ केजी दाल, १ पोका नुन तथा साबुनसहितका सामग्री वितरण गरिएको समाजले जनाएको छ । यसअघि पनि षोडशा विद्यार्थी समाजले जिल्लाका १० वटै पालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो भने, जिल्ला अस्पताल मंगलसैन र बयलपाटा अस्पताललाई पानी ट्याङ्की सहितका सामग्री हस्तान्तरण गरेको थियो ।

त्यसैगरी मंगलसैन नगरपालिकामा बसोबास गर्दै आइरहेका बादी समुदायका ६ घरपरिवारका २९ जना र नाथ समुदायका एक घर परिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरिसकेको छ । मंगलसैन नगरपालिकाको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालित क्वारेन्टाइनमा रहेका ५३ जनालाई दिवा खाजा ९ड्राईफुड० को पनि समाजले व्यवस्था गरेको थियो ।

पूर्व विद्यार्थी समाजले यो पटक गरेको राहत वितरणमा जिमि ग्रुपमा सञ्चालक जिवन चलाउनेको महत्वपुर्ण सहयोग रहेको बताइएको छ । समाजले स्वदेश तथा विदेशबाट पनि समाजको कामलाई सहयोग गर्नेहरु रहेको जनाएको छ । राहत वितरण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न कार्यसमितिका सदस्य तथा समाजसेवी पेम्बा शेर्पा, गणेश साउद, आनन्द श्रेष्ठ र धुर्व शाहीलगायतले महत्वपुर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

जनता समाचारबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker