प्रसिद्ध बडिमालिका मेला आज लाग्दै

सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मेला आज लाग्दैछ । हरेक वर्ष साउन शुक्लपक्षबाट सुरु हुने मेलामा यो वर्ष भने कोरोना सङ्क्रमण जोखिमका कारण गएका वर्षमा जस्तो चहलपहल छैन ।
जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । यसअघिका वर्षहरुमा बडिमालिकाको दर्शन गर्न सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट हजारौँ सहभागी हुने गरेका थिए ।
मालिकादेवी सुदूरपश्चिमको प्रमुख शक्तिपीठका रुपमा रहेको बडिमालिका मन्दिरका पुजारी नेत्रराज उपाध्यायले बताउनुभयो । बडिमालिकामाईको पूजाका लागि बाजुरा सदरमुकाम मार्तडीबाट सरकारी टोली एकादशीको दिन गएको मार्तडी नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिनुभयो ।
डोटी र जुम्लाबाट पनि सरकारी टोली बडिमालिका पुगेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।