चितवन मेडिकल कलेजमा जन्मियो ५ केजीको बच्चा

भरतपुर, २६ साउन, भरतपुरस्थित चितवन मेडिकल कलेजमा मकवानपुरकी एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सीता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन् । तत्कालै भिडियो एक्स–रे गर्दा बच्चाको तौल साँढे ४ किलो भन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए । सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत बच्चा(छोरी) लाई जन्मदिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.वसन्त शर्माले जानकारी दिए । डा.वन्दना खनाल, डा.प्रेक्षा सिंह र डा.रेनुका ताम्राकारसहितको टोलीले अप्रेसन गरेको थियो ।

डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साँढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए अप्रेसन गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । करिब ५ वर्ष देखि उक्त अस्पतालमा काम गर्दै आएका डा.शर्माले यति धेरै तौलको बच्चा अहिलेसम्म नदेखेको बताए । “यसअघि ४ किलो आठ सय ग्रामसम्मका बच्चा त देखेको हो तर ५ किलो भन्दा बढी तौल भएको बच्चा त पहिलो पटक देखियो”, उनले भने ।

नेपालमा सामान्यतया बच्चा ठूलो जन्मनुको कारण वंशाणुगत देखिएको डा.शर्माले बताए । ‘यद्यपी मधुमेहलगायतका समस्याका कारण पनि बच्चाको तौल बढी हुनसक्छ’, उनले भने । यी महिलाको भने वंशाणुगत तथा शारीरिक अवस्थाका कारण ठूलो बच्चा जन्मिएको उनको आंकलन छ । उनको तौल ११० किलो र उचाई ५ दशमलव ६ फिट छ । तेश्रो सन्तानको जन्म दिएकी सीताको पहिलो बच्चा ११ वर्षका छन् । उनी जन्मिदा ४ किलो १ सय ग्रामका थिए । दोश्रो बच्चा ४ किलो ९ सय ग्रामको जन्मिए । अघिल्ला दुवै बच्चा अपरेशन नगरी जन्मिएका थिए ।

श्रीमतीलाई लिएर स्वास्थ्य जाँचका लागि हेटौंडा अस्पताल पुगेका श्रीमान लालबहादुर डिम्डुङले उक्त अस्पतालले भरतपुर रेफर गरेको बताए । नेपालमा औषतमा २ देखि ३ किलोग्रामको बच्चा जन्मिने गरेका छन् । डा.शर्माकाअनुसार विश्वभरको तथ्यांकमा ५ किलोग्राम माथीका बच्चा २० हजार जनामा एक जना जन्मन्छन् ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker