वडा अध्यक्ष कामीद्वारा गाउँपालिका अध्यक्ष खड्का विरुद्ध प्रेस विज्ञप्ति : यस्तो छ आरोप

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका वडा अध्यक्ष लाल कामीले गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का विरुद्ध विज्ञप्ति जारी गर्नु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाको कालिकामा नेपाली काँग्रेसको सार्वजनिक कार्यक्रममा आफू विरुद्ध व्यत्तीगत आक्षेप लाग्ने गरी धारणा सार्वजनिक गरेको भन्दै वडा अध्यक्ष कामीले प्रेस विज्ञप्ति सार्वजनिक गर्नु भएको हो ।
वडा नम्बर ५ मा भएको नेपाली काँग्रेसको सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्काले प्रदेश सरकार र पालिका सरकारका तर्फबाट सञ्चालित योजना तथा कार्यक्रम पार्टी तथा व्यक्तिगत हिसाबमा सञ्चालन गर्ने गरी झुटा आश्वासन बाँड्दै वडा सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाएकोमा वडा अध्यक्ष कामीले आपत्ति जनाउनु भएको छ ।
प्रदेश सरकार र गाउँपालिका सरकारको युवा स्वरोजगार आयमूलक कार्यक्रमलाई व्यक्ति र आफ्नै पार्टीबाट दिन्छु जस्तो गरी झुट्टा आश्वासन बाँडै वडा सरकारले केही पनि गरेन भन्नेहरूले पहिला आफुस को हुँ ? मैले के गरेको छु, मैले समाज र गाउँका लागी के कति काम गरेको छु ? त्यो बिचार गरेर बोल्नुपर्छ वडा अध्यक्ष कामीले विज्ञप्तिमा लेख्नु भएको छ ।
यस्तै वडा अध्यक्ष कामीले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष खड्काले गत आर्थिक वर्षको बजेटको समीक्षा गर्न नसकेको,कोरोना रोकथाम नियन्त्रणको खर्चबारे समीक्षा नगरेको,गाउँपालिकाबाट प्रदान हुने अनुदान योग्य व्यक्ति तथा समूहलाई नभई आफू निकट दलका व्यक्ति तथा नातेदारलाई वितरण गरेको, गाउँपालिकाले भाडामा लिएको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लगाउनु भएको छ ।
वडा अध्यक्ष लाल कामीसंगको कुराकानी :-
यस्तो छ वडा अध्यक्ष लाल कामीले प्रकाशित गर्नु भएको विज्ञप्ति
