गुणस्तरीय शिक्षा बिना समुन्नतको कल्पना गर्न सकिँदैन : अर्थमन्त्री बोहरा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताउनु भएको छ ।
गुणस्तरीय शिक्षा बिना समुन्नत समाजको परिकल्पना गर्न नसकिने मन्त्री वोहराले बताउनु भएको हो ।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटको कुयडा स्थित आदर्श आधारभूत विद्यालय को नवनिर्मित २ कोठे भवनको उद्घाटन गर्दै मन्त्री बोहराले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउनका लागी शिक्षक र अभिभावक दुवैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
यस्तै मन्त्री बोहराले अछाम जिल्लाको समग्र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।
प्रदेश सरकारको सहयोगमा मेल्लेख गाउँपालिकाका प्रत्येक वडामा विद्यालयका नयाँ भवनहरू पहलमा बनिरहेको बताउँदै उहाँले यस पछिका दिनहरूमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सुदूरपश्चिम प्रदेश हरेक विकास निर्माणका कार्यहरूमा अगाडि रहेको दाबी गर्दै मन्त्री बोहराले प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका योजनाहरू पनि दिगो र पारदर्शी रुपमा सम्पन्न गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।