सदरमुकाम क्षेत्र निश्चित समय सीमा तोकेर निषेधित क्षेत्र घोषणा गरौँ : तिमिल्सैना

नेपाली काँग्रेस अछामका सहसचिव एवंम प्रवक्ता वेदप्रकाश तिमिल्सैनाले दिनानुदिन बढ्दै गएको कोरोनाको सङ्क्रमणले अछाममा समस्या निम्त्याउन सक्ने उल्लेख गरेका छन्। अछाममा फैलिएको कोरोना सङ्क्रमणको विषयमा चासो राख्दै काँग्रेस अछामका युवा नेता तिमिल्सैनाले कोरोना नियन्त्रणका लागि सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरेका हुन् ।
अछामको हरेक पाटोमा चासो र चिन्ता व्यक्त गरिरहने नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष समेत रहेका तिमिल्सैनाले सामाजिक सञ्जाल मार्फत कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । उनले अहिलेको सङ्क्रमण दरलाई मध्यनजर गर्दै तत्काल सदरमुकाम सहित ठुलासैन क्षेत्रमा निश्चित समय सीमा तोकेर केही दिनका लागि निषेधित क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताएका छन् ।

साथै उनले कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिगं, स्वाब सङ्कलनको दायरा फराकिलो, सङ्क्रमितले होम आइसोलेसनको पालम गरे नगरेको अनुगमनमा समेत ध्यान दिन स्थानीय तह अन्तर्गत वडा स्तर बाटै सक्रियता देखाउनु पर्ने बताएका छन् । अहिलेको चिसो मौसमलाई ध्यानमा राख्दै सदरमुकाम सहितका आइसोलेसनहरूको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै तिमिल्सैनाले जिल्ला अस्पताल सहित अन्य कोभिड अस्पताललाई समेत थप व्यवस्थित गर्न तर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।
जिल्लाका अस्पतालहरूमा अक्सिजन बेडको तुरुन्तै व्यवस्थापन गर्नुपर्ने भन्दै उनले कमलबजार नगरपालिकाले सञ्चालनमा ल्याएको पिसिआर प्रयोगशालालाई अछाम स्थित स्थानीय तह र जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले बजेको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । तिमिल्सैनाले सत्ता पक्षका सांसदले प्रक्रिया अनुसार भएका कामको शिलान्यास, भाषण, उद्घाटन गरेर जस लिनुभन्दा पनि कोरोना रोकथाम र नियन्त्रणका लागि नतिजा दिने काम देखाउन चुनौती समेत दिएका छन् ।
यस्तै उनले जिल्लाका सबै स्थानीय तह जिम्मेवार बन्दै स्थानीय प्रशासन, स्वास्थ्य कार्यालयसँग नियमित समन्वयको पाटो बलियो पार्दै सहजीकरण मा स्वास्थ्य कार्यालयले पनि स्थानीय तहलाई सघाउन अनुरोध गरेका छन् । जिल्लामा अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न पनि अहिलेको आवश्यकता भएकाले यस कुरामा समेत सम्बन्धित पक्षको ध्यान दिनुपर्ने उनको भनाई छ ।
सुदूर आजबाट साभार