बैङ्क मार्फत भत्ता वितरण प्रति बान्नीगढीका नागरिक असन्तुष्ट
सेवाग्राहीको भिडभाडले कोरोना सङ्क्रमणको जोखिम बढ्दो

बान्नीगढी जयगढ गाउँपालिकामा बैङ्क मार्फत सामाजिक सुरक्षा वितरण सुरु गरिएको प्रति सेवाग्राहीले गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा प्राप्त गर्दै आएका नागरिकले बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता बुझ्न निकै समस्या भएको गुनासो गरेका हुन् ।
नेपाल सरकार गृह मन्त्रालयको कार्तिक २४ गतेको बैठकले मङ्सिर १ गते देखी सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैङ्क मार्फत भुक्तानी गर्ने निर्णय गरे अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा पनि बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ ।

सेवाग्राहीले भने बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता बुझ्न निकै झन्झटिलो भएको गुनासो गरेका छन् ।
साबिकको वडा कार्यालय मार्फत नै भत्ता बुझ्न सजिलो भएको बताउँदै उनीहरूले वडा कार्यालय मार्फत नै भत्ता वितरण गर्नुपर्नेमा जोड दिएका छन् । बिहानै ९ बजे देखी नै बैङ्कमा लाइनमा लागे पनि समयमै भत्ता बुझ्न नसकेको तथा ज्येष्ठ नागरिकलाई निकै समस्या भइरहेको मोती सिंह नगार्जीले बताउनुभयो ।
यस्तै सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागी सिभिल बैङ्क जयगढमा आई पुग्नु भएका ज्येष्ठ नागरिक महिला पार्वती आउजीले भोक भोकै भत्ता बुझ्न आउँदा समेत भत्ता बुझ्न नपाएको गुनासो गर्नुभयो ।
अन्य सेवाग्राहीले समेत सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत निकै झन्झटिलो भएको र आफूहरूलाई निकै समस्या भएकाले वडा कार्यालय मार्फत नै भत्ता वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।
यसै बिच बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीको भिडभाडले कोरोना सङ्क्रमणको जोखिम समेत बढेको छ ।
सिभिल बैङ्क जयगढमा बिहीबार मात्रै करिब २ सय जना ज्येष्ठ नागरिक तथा सेवाग्राहीको बाक्लो भिडभाड थियो ।

बैङ्कमा सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीले सामाजिक दुरी कायम नगर्नुका साथै आवश्यक स्वास्थ्य मापदण्ड समेत पुरा गरेका थिएनन् ।
यता बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेशराज ढुङ्गानाले भने नेपाल सरकारको निर्णय र निर्देशन अनुसार नै सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत वितरण गर्न सुरु गरिएको बताउनु भएको छ ।