अछाममा कोरोना भाईरसबाट थप एक पुरुषको मृत्यु

टेकराज भण्डारी, पौष ९, अछाम
अछाममा कोरोना भाइरस कोभिड १९ का कारण थप एक जनाको ज्यान गएको छ ।
जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ बर्षिय पुरुषको कोरोना भाईरसबाट ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले बताउनु भयो ।
यही पौष २ गते बयालपाटा अस्पतालमा कोरोना परिक्षणका लागि स्वाब दिएका उनको ६ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको प्रयोगशालामा परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
पौष ६ गते देखि जिल्ला अस्पताल अछाममा उपचाररत रहेका उहाँको बुधबार राति साढे ११ बजेतिर ज्यान गएको डाक्टर बिष्टले बताउनु भयो ।
नियमित अक्सिजन सहित उपचारमा राखिए पनि ज्यान बचाउन नसकिएको उहाँको भनाइ छ । उहाँ उच्च रक्तचाप र मधुमेहको समेत बिरामी रहेको र औषधि सेवन गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । शवको अन्त्यस्टिको जिम्मेवारी नोपली सेनालाई दिईएको छ।
यो संगै अछाम जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । ४ जनाको यसअघि मृत्यु भैसकेको थियो । २ जनाको जिल्ला अस्पतालमै ज्यान गैसकेको छ ।
हाल अछाममा कोरोना भाईरस संक्रमितको संख्या १६ सय २२ जना पुगेको छ । १३ सय ४८ जना निको भई घर फर्केका अछाममा हाल २ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएको आशंका गर्न थालिएको छ । बुधबार मात्र थप ६ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।