साँफेबगर नगरपालिकामा न्यायिक समितिमा उजुरी आउने क्रम बढ्दो : संयोजक बुढ्थापा

साँफेबगर नगरपालिकामा रहेको न्यायिक समितिमा उजुरी आउने क्रम बढेको छ ।
नगरपालिकामा आर्थिक वर्ष ०७७÷७८ को पहिलो चौमासिकमा ९ वटा उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको यही अबधिमा ८ वटा उजुरी दर्ता भएका थिए ।
न्यायिक समितिमा आएका उजुरी मध्य ५ वटा निवेदनको बारेमा छलफल भई सकेको छ भने ४ वटा निवेदन छलफलकै क्रममा रहेको साँफेबगर नगरपालिकाका नगर उपप्रमुख विर्मलादेवि बुढ्थापाले बताउनुभयो ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै न्यायीक समिति संयोजक बुढ्थापाले नगरमा महिला पुरुषबिच हुने हिंसा, पारिवारिक लेनदेनका तथा मदिरा सम्बन्धीका उजुरी आउने गरेका र ती निवेदनको न्यायिक समितिमा व्यापक छलफल गरेर विवादको समाधान गर्ने गरेको बताउनुभयो ।
नगरपालिकामा बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, महिला हिंसा तथा मदिरा सेवन जस्ता क्रियाकलाप भईरहेका भएपनि पीडित पक्षले सहजै उजुरी दिन नसक्दा अहिलेपनि कतिपयले न्याय पाउन नसकेको बुढ्थापाको भनाई छ ।
न्यायीक समितिप्रती नागरिकहरुको आकर्षण बृद्धि गर्नका लागी नगरपालिकाले संचालन गरेको गर्भवतिसंग उपप्रमुख कार्यक्रममा पनि न्यायिक समितीको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने गरीएको उहाँले बताउनुभयो ।