मेल्लेखमा चालु आर्थिक वर्षको हाल सम्म करिब २३ प्रतिशत बजेट खर्च

अछामको मेल्लेख गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा २२.७९ प्रतिशत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षमा ४३ करोड ९७ लाख २ सय ४९ बजेट मध्य जम्मा चालुतर्फ २७ करोड ११ लाख २ हजार, १ सय ४१ रुपैँया अर्थात् ६३.०५ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगत तर्फ १५ करोड ८९ लाख १ हजार ५सय ६ रुपैँया अर्थात् ३६.९५ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।
जस अन्तर्गत चालु आर्थिक वर्षको हालसम्ममा २२.६९ प्रतिशत अर्थात् १० करोड २ लाख ७ हजार ६ सय ८६.७४ रुपैँया बजेट खर्च भएको छ । मेल्लेख गाउँपालिकामा अघिल्लो आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा बजेट खर्चको अवस्था सन्तोषजनक रहेको दाबी गरिएको छ ।
चालु आर्थिक वर्षको हालसम्म खर्च भएको २२.७९ मध्य चालुतर्फ १५.०७ र पुँजीतर्फ ८.२० प्रतिशत बजेट खर्च भएको मेल्लेख गाउँपालिकाका लेखा प्रमुख लोकबहादुर चलाउनेले जानकारी दिनुभयो ।
रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै लेखा प्रमुख चलाउनेले पुँजीगत तर्फ भन्दा चालुतर्फ बजेट बढी खर्च भएको बताउनुभयो ।
गाउँपालिकामा यस आर्थिक वर्ष बजेट पनि ढिलो गरि आएको र पहिलो चौमासिकमा कर्मचारीको तलब, भत्ता, भौतिक संरचना लगायतका क्षेत्रमा बजेट खर्च हुने भएकाले पहिलो चौमासिकमा पुँजीगत तर्फको बजेट खर्च कम देखिएको उहाँको भनाइ छ ।
अछाम जिल्लामा विगतको वर्षहरूमा बजेट खर्च गर्न असार नै कुर्नै पर्ने बाध्यता रहेको भए पनि मेल्लेख गाउँपालिकामा यस वर्ष समयमै विकासे बजेट खर्च गरी सक्ने लेखा प्रमुख चलाउनेको दाबी गर्नु भएको छ ।
यसै बिच मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्काले गाउँपालिकाको बजेट पारदर्शी रुपमा खर्च भइरहेको दाबी गर्नु भएको छ ।
विकासे तथा चालु तर्फका बजेट आवश्यक मूल्याङ्कन र प्रक्रिया पुरा गरेर मात्र भुक्तानी गर्ने गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको विकासे बजेट असार अगाडि नै खर्च गरिसक्ने लक्ष अनुरूप काम भइरहेको अधिकृत खड्काले बताउनु भएको छ ।