Techie IT

तुर्माखादमा सडक निर्माणका लागी निजी जग्गामा रातारात चलाइयो डोजर


तुर्माखाद गाउँपालिकाको प्रशासनिक कार्यालय जाने बाटो निर्माणका लागी निजी जग्गामा रातारात डोजर चलाइएको छ ।

गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन जाने बाटो निर्माणका लागी रातारात निजी जग्गामा डोजर चलाइएको हो । आफूहरूलाई कुनै पनि समन्वयन नगरी रातारात आफ्नो जग्गामा डोजर चलाइएको भन्दै जग्गाधनीहरूले तत्काल काम रोक्का गरी छानबिन गर्न गाउँपालिकामा निवेदन दिएका छन् ।

आफ्नो निजी जग्गामा मनोमानी ढङ्गबाट रातारात डोजर चलाइएको भन्दै जग्गाधनीहरू खडक बयक,मनीषा बयक,नारायणदेव बुढा लगायतले गाउँपालिकामा घटनाबारे छानबिन र क्षतिपूर्तिका लागी निवेदन गर्दा गराएका हुन् ।

जग्गाधनीले गाउँपालिकामा दर्ता गराएको निवेदन

तुर्माखाद बजार जाने मुख्य बाटोबाट करिब २ सय मिटर दुरीमा निर्माण भइरहेको प्रशासनिक भवनसम्म जानका लागी सडक निर्माण गर्न यही पौष २२ गते राती डोजर चलाइएको जग्गाधनी झंकर बयकले बताउनुभयो ।

आफूहरूलाई कुनै पनि जानकारी तथा सोधपुछ नै नगरी गहुँबालीमाथी डोजर चलाइएको भन्दै जग्गा धनी बयक आक्रोशित बन्नु भएको छ । स्रोतका अनुसार तुर्माखाद गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनसम्म जाने करिब २ सय मिटर बाटो निर्माणका लागी गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

१० लाख बजेट खर्च गर्नका लागी एकलौटी ढङ्गबाट गठन गरिएको उपभोक्ता समितिले नै उक्त जग्गामा रातारात डोजर चलाएको बुझिएको छ । जग्गाधनी झंकर बयकले आफ्नो जग्गामा डोजर चलाउने विषयमा आफूसँग कुनै पनि सहकार्य र समझदारी नभएरै जथाभाबी डोजर चलाएको बताउनुभयो ।

रेडियो बानिगढीसंग संक्षिप्त कुराकानी गर्दै उहाँले डोजर चलाइएको जग्गाको लागी १० लाख बजेट कुन आधार बाट विनियोजन गरिएको हो भन्दै गाउँपालिका तथा उपभोक्ता समितिलाई प्रश्न पनि गर्नुभएको छ । आफ्नो मागलाई गाउँपालिकाले सम्बोधन गर्नुपर्ने र यदि आफ्नो मागलाई सम्बोधन नगरे कानुनी प्रक्रियामा जाने उहाँले उल्लेख गर्नुभयो ।

बाईट :- झँकर बयक

तुर्माखाद गाउँपालिकामा निजी जग्गामा रातारात डोजर चलाइएको बारेमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले भवन निर्माणका लागि समन्वय गर्ने जिम्मा सम्बन्धित वडालाई र उपभोक्ता समितिलाई दिएको र विधिवत रुपमै समिति गठन गरी बाटो निमार्ण गर्न लागिएको बताउनुभयो । जग्गा धनीहरूले गाउँपालिकामा निवेदन दिएका र निवेदन माथि सुनाई हुने बताउनुभयो ।

बाईट :- पुष्पराज शर्मा ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस