Techie IT

अछाममा विपद् जोखिम न्यूनीकरण गर्न प्रयास के छन् ? कुराकानी सहित


२३ औँ भूकम्प सुरक्षा दिवस अछाममा पनि मनाइएको छ ।

‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नारासहित आज २३ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति अछामको आयोजनामा मंगलसेनको शान्ति स्मारकमा मनाइएको दिवसमा विभिन्न सरोकारवालाहरू सँग विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउने बारेमा छलफल भएको थियो ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा मनाइएको दिवसमा मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।

यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रहरी लागायता सरकारी कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख बोहराले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन नगरपालिकाको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी उपाध्यायले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकाय र नागरिकबिच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले नागरिकहरूमा विपद् सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने र बाढी र पहिरोको पूर्व सूचना विभिन्न प्रणालीलाई प्रभावकारी बनाउने, विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लगायतका काम भइरहेका बताउनुभयो ।

कुराकानी : प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय

यो दिवस हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ ।

भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस