स्वाब सङ्कलनमा अछामका स्थानीय सरकार उदासीन

७ पालिका कोरोना सङ्क्रमण मुक्त

अछाममा समयमा कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन हुन छाडेको छ ।

माघ ३ गते पछि ७ जनाको मात्रै कोरोना परीक्षण भएको छ ।

दैनिक ९६ को सङ्ख्यामा कोरोना परीक्षण गर्ने क्षमता रहेको अछामको कमलबजार पिसिआर प्रयोगशालामा सुरुवातमा २४ घण्टामा १२८ जनाको कोरोना परीक्षण हुने गरेको थियो । तर पछिल्लो समयमा जिल्लामा स्वाबसमेत सङ्कलन हुँदैन ।

स्थानीय पालिकाले पनि कोरोना परीक्षण गर्न उदासीन बनेका र नागरिक पनि पछिल्लो पटक संयमित नभएकाले कोरोना परीक्षण हुन छोडेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताउनुभयो ।

अस्पताल आफैँले पनि उपचारका लागि आउनेमध्ये शङ्कास्पद बिरामीको नमुना सङ्कलन गरेर जाँच गर्ने गरेको जिल्ला अस्पताल अछामले जनाएको छ तर बिरामी आफैले पनि कोरोना परीक्षण गर्न नमानिरहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

यस्तै उहाँले जिल्लामा कोरोना सङ्क्रमण दर पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण सुरु भएको पनि जानकारी दिनुभयो ।

कोरोनाका हटस्पट मानिएका ठाउँमा एन्टिजेन परीक्षण सुरु भएको उहाँको भनाई छ । यता स्वास्थ्य कार्यालय र स्थानीय तहहरूबाट नमुना आउन छोडेपछि कमलबजार पिसिआर प्रयोगशालामा कोरोना परीक्षण नभएको कमलबजार पिसिआर प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

केही समययता स्थानीय तहबाट नमुना आएका छैनन् । परीक्षण गरिने नमुनामध्ये सङ्क्रमित फेला पर्ने दर घटेको उहाँले बताउनुभयो । प्रयोगशालाले कसाएता यता कोरोना परीक्षणको सूचना पनि दिन छोडेको छ ।

अछाममा अहिले सम्म १३ हजार ३ सय २७ जनाको कोरोना परीक्षण गरिएको छ । जिल्लामा १६ सय ६८ जनामा कोरोना परीक्षण भएकोमा १६ सय ५० जना निको भई घर फर्किएका छन् । अछाममा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १३ जनामा झरेको छ ।

जिल्लामा ५ जनाको कोरोना सङ्क्रमणकै कारणले ज्यान गएको छ । अछाममा ७ ओटा पालिका कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

जिल्लाको ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

जिल्लाको कमलबजार नगरपालिकामा ४ जना, चौरपाटी गाउँपालिकामा ६ जना र मंगलसेन नगरपालिकामा ३ जना गरी १३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाकारी दिएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker