Techie IT

बैतडीमा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आशंका


बैतडीमा बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा लडालेक जंगलमा फेला परेको मृतकका दाइ नाता पर्ने शिवराज भट्टले जानकारी दिए ।

किशोरीको शव फेला परेको जानकारी आइसकेपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, चिकित्सक र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले यकिन नभएको प्रहरी नायव परीक्षक अधिकारीले बताए । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत पुगिसकेको उनले बताए ।

उनले भने, हामीले यो घटनाको सुक्ष्म तरिकाबाट अनुसन्धान अघि बढाएका छौं । अहिले नै किशोरीको हत्याबारे थाहा भइ सकेको छैन् । यसको अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।

भट्टको बलात्कारपछि हत्या गरिएको मृतकका आफन्तले बताएका छन् । भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेर फालिएको आशंका गरिएको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। उनले भने, शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिन्छ।शरीरभरी चोटपटक छ । हातहरु काटिएको अवस्थामा छन् ।

मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने प्रहरीले जनाएको छ । दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । मृतक कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत थिइन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस