आज प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै, घरघरमा दीपावली गर्न सरकारको आहृवान

आज ७१ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।
यस अवसरमा आज देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ तीन दिनसम्म यो दिवस मनाइँदै छ । गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूलसमारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो ।
यस अवसरमा तीन दिनसम्म दीपावली गर्न पनि सरकारले आहृवान गरेको छ । प्रजातन्त्र दिवसका अवसरमा गरिने कार्यक्रमको प्रचारप्रसार गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । आज नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनेछ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य दलका अध्यक्ष तथा नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस