Techie IT

बान्नीगढीको ट्याक्टर दुर्घटना : गाउँपालिकाको गम्भिर लापरबाही


बान्नीगढी जयगढ गाउँपालिकाको ट्याक्टर दुर्घटनाबारे नयाँ खुलासा भएको छ ।

यही चैत्र ११ गते बुधवार भएको बान्नीगढी गाउँपालिकाको ट्याक्टर दुर्घटनाबारे नयाँ खुलासा भएको हो ।

चालकले मदिरा सेवन गरी गाडी चलाएका कारण दुर्घटनामा परेको खुलासा भएको हो भने सवारी चालक भनिएका शेर बहादुर साउँदसंग सवारी चालक अनुमति पत्र समेत नभएको खुलेको हो ।

दुर्घटनामा परि घाइते भएका गाउँपालिकाका डोजर सहायक शेर बहादुर साउँदको उपचारका क्रममा मदिरा सेवन गरेको देखिएको बयालपाटा अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनको स्वास्थ्य उपचारको क्रममा मदिरा सेवन गरेको पाइएको हो । यसै बिच ट्याक्टर चालक भनिएका शेर बहादुर साउँद गाउँपालिकाको ट्याक्टर चालक नभई डोजर सहायक रहेको समेत देखिएको छ भने उनीसँग सवारी चालक अनुमति पत्र समेत नरहेको पाइएको छ ।

गाउँपालिकामा उनी डोजर सहायकका रुपमा कार्यरत थिए । उनी गाउँपालिकाको डोजर सहायकका रुपमा कार्यरत रहेको भए पनि केही समयदेखी गाउँपालिकाको ट्याक्टर चलाउँदै आएका थिए ।

सवारी चालक अनुमति पत्र नभएका र गाउँपालिकाको डोजर सहायकका रुपमा कार्यरत रहेका साउँदलाई गाउँपालिकाले के कसरी ट्याक्टर चलाउन अनुमति दियो भन्ने बिषयमा बुझ्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीलाई टेलिफोन गर्दा जोशीको फोन उठेन ।

ट्याक्टर चालक भनिएका साउँदको सवारी चालक अनुमति पत्र नभएकोबारे जानकारी गराउन प्रहरीले पटक पटक आग्रह गरे पनि गाउँपालिकाले यस बिषयमा कुनै पनि सूचना नदिएको स्रोतको दाबी छ ।

यही चैत्र ११ गते साँझ करिब ७ बजे बान्नीगढी जयगढ गाउँपालिकाको से १ द २७ नम्बरको ट्याक्टर जयगढ रामारोशन सडक खण्डको नाना पिपल नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा परि चालक शेर बहादुर साउँद घाइते भएका थिए ।

स्थानीय सरकार सञ्चालनका सम्बन्धमा बनेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गाउँपालिकाका चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी खर्च हिसाब र अन्य कागजात पत्र सुरक्षित राख्ने ,राख्न लगाउने काम कर्तव्य र अधिकार गाउँपालिका अध्यक्षमा निहित गरेको छ ।

स्थानीय सरकार संचालन ऐनमा उल्लेख गाउँपालिका अध्यक्षको काम कर्तव्य र अधिकार

यस अर्थमा बान्नीगढी जयगढ गाउँपालिकाको ट्याक्टर सवारी अनुमति पत्र समेत नभएका डोजर सहायकलाई चलाउन दिनु ,मदिरा सेवन गरी ट्याक्टर दुर्घटना भएको पुष्टि हुनुले गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको आफ्नो काम कर्तव्य र अधिकारबारेको गैर जिम्मेवारीता समेत सार्वजनिक भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!