अछाममा मास्क लगाउने नियम सरकारी आग्रहमा सीमित

भारतबाट फर्कने बढेसँगै अछाममा पनि कोरोना भाइरसको सङ्क्रमण पुन फैलिने चिन्ता बढेको छ ।
मजदुरीका लागि भारत गएका अछामी घर फर्कन थालेका छन् ।
केही खेतमा लगाएको गहुँ बाली भित्र्याउन र अछामीको दोस्रो महान् चाड चैते दशैँ मनाउनका लागि समेत घर फर्केका हुन् ।
कोरोना नियन्त्रण गर्न अछामका स्थानीय सरकारहरू निष्क्रिय भइरहेका बेला भारतबाट फर्किनेहरू सहजरुपमा आवतजावत गर्ने भएकाले थप चिन्ता बढेको हो ।
भारतबाट फर्किएका अछामका ८ जनालाई एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ ।
गत शनिवार भारतबाट फर्किएका मध्यका अछामका ८ जनामा एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । देशैभर नयाँ प्रकारको कोरोना सङ्क्रमण फैलिँदो क्रममा रहेको छ । तर स्वास्थ्य सतर्कतामा कमी देखिएको छ ।
सरकारले कोरोना भाइरसको जोखिमलाई हेरेर स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पठन–पाठन गर्न शिक्षण संस्थाहरूलाई निर्देशन गरेको भए पनि त्यसको पूर्ण पालना नभएको पाइएको छ ।
सार्वजनिक स्थल, सार्वजनिक यातायात र सरकारी कार्यालयमा मास्क समेत नलगाउनेको सङ्ख्या हरेक दिन बढेको छ । कोरोनाको बेवास्ता गरेर समाजमा कोरोना सङ्क्रमण बारे सुसूचित गर्ने सञ्चार कर्मी नै विना मास्क पत्रकार माहासंघको चुनावमा लागेका थिए ।
यसले पनि कोरोना भाइरस झनै फैलिने जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीले सचेत रहन आग्रह गरेका छन् ।