Techie IT

बान्नीगढी गाउँपालिकामा कोरोना लहर : गाउँपालिका सरकार मूकदर्शक


बान्नीगढी जयगढ गाउँपालिकामा कोरोनाको लहर देखिएको छ ।

एकै विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ भने शिक्षकहरूमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकोमा उनीहरूको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

नन्दा माद्यामिक विद्यालय कालिकामा अध्ययनरत २५ जना विद्यार्थीको कोरोना जाँच गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरू अन्य बिद्यार्थीहरुको कोरोना परीक्षण हुन बाँकी छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न वडाहरूमा ज्वरो,रुघाखोकी,लगायत लक्षण थुप्रै सर्वसाधारणमा देखिएको स्थानीय बताउँछन् ।

जयगढमा रहेका विभिन्न मेडिकलहरूमा समेत ज्वरो,रुघाखोकी लगायतका लक्षण भएका बिरामीको भिड लागी रहेको छ ।

जयगढ बजारमा रहेको पङ्कज मेडिकल हलका संचालक भरत खत्रीका अनुसार उहाँको मेडिकलमा मात्र दैनिक रुपमा १ सय ५० भन्दा बढी ज्वरो,रुघाखोकी,टाइफाइडका बिरामी उपचारका लागी आउने गरेका छन् ।

बिहान मेडिकल खुले देखी अबेर साँझसम्म यस्ता लक्षण भएका बिरामी उपचारका लागी आउने गरेको खत्रीको भनाई छ ।

जयगढमा रहेका अन्य निजी मेडिकल क्लिनिकमा समेत यस्तै समस्या रहेको सञ्चालकले बताएका छन् ।

गाउँपालिकाका विभिन्न वडाका स्थानीयका अनुसार टोल टोलमा कोरोनासँग मिल्दाजुल्दा लक्षण थुप्रै नागरिकमा छ ।

एकै विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीमा परीक्षण गर्दा १६ जनामा कोरोना भेटिनु र गाउँ टोलमा यस्ता लक्षण देखिनुले समुदायसम्मै कोरोना फैलिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ढुङ्गानाका अनुसार कोरोना सङ्क्रमण दर फैलिन नदिन तत्काल विद्यालय लगायत भिडभाड हुने क्षेत्र बन्दा गर्नु आवश्यक छ ।

जिल्लामा कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिँदै गएकाले प्रत्येक स्थानीय तहमा १० बेडको आइसोलेसन वार्ड निर्माण गर्ने जिल्ला कोविद सङ्कट व्यवस्थापन केन्द्रले निर्णय समेत गरिसकेको ढुङ्गानाले जानकारी दिनुभयो ।

तर यता कोरोनाको कहर फैलिएको बान्नीगढी जयगढ गाउँपालिकामा भने गाउँपालिकाले निर्माण गरी कर्मचारी समेत भर्ना गरिएको कोरोना अस्पताल समेत सञ्चालनमा ल्याइएको छैन ।

कोरोना नियन्त्रणका लागी भन्दै लाखौँ रकम खर्च गरी गाउँपालिकाको वडा नम्बर ४ तिमिल्सैनमा ५ बेडको कोरोना अस्पताल निर्माण गरिएको भए पनि उक्त अस्पताल प्रयोगविहीन अवस्थामा रहेको छ भने अस्पतालका लागी भन्दै नियुक्त गरिएका कर्मचारी समेत काम विहीन छन् ।

तिमिल्सैनमा रहेको ५ बेडको कोरोना अस्पताल :-

बान्नीगढी जयगढ गाउँपालिकामा निर्माण गरिएको ५ शय्याको कोरोना अस्पताल

गाउँपालिकामा लक्षण सहित कोरोना सङ्क्रमण देखीएका २ जनाको धनगढीमा उपचार भइरहेको छ भने १ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

सोमवार मात्रै कोरोना सङ्क्रमण देखीएका बिद्यार्थीहरु भने होम आइसोलेसनमा रहेका छन् ।

दोस्रो चरणको कोरोना लहर पश्चात सोमवारसम्ममा मात्र १६ जना विद्यार्थी र ४ जना अन्य नागरिक गरी बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुगेको छ ।

२० जनामा कोरोना सङ्क्रमण र गाउँ टोलमा थुप्रै नागरिकमा लक्षण देखिएको भए पनि गाउँपालिका सरकार भने यस बिषयमा मूक दर्शक देखिएको छ ।

यस अघिको बान्नीगढी जयगढ गाउँ कार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरूको भ्रमणको निर्णय पारित गर्दै कार्यपालिका प्रमुख,उप प्रमुख र सदस्यहरू पूर्वका विभिन्न जिल्लाको भ्रमण सकेर केही दिन अघि मात्रै भ्रमणबाट फर्किएका छन् ।

यता हाल कोरोनाको कहर चलिरहँदा समेत यस बिषयमा बान्नीगढी जयगढ गाउँपालिकाले आवश्यक कुनै पनि निर्णय र योजना अघि सार्न सकेको छैन भने कार्यपालिका बैठक समेत बोलाइएको छैन ।

यता बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँदले भने केन्द्र सरकारको निर्णय अनुसार विद्यालय बन्द गर्ने निर्णय अनुसार गाउँपालिकाका विद्यालय बन्द गरिएको बताउनु भएको छ ।

यस्तै कोरोना नियन्त्रणका लागी आवश्यक गतिविधि के कसरी अगाडी बढाउने भन्ने विषय सरोकारवाला र जानकारहरूसँग छलफलको तयारी भइरहेको बताउँदै उपाध्यक्ष साउँदले तत्काल बैठक बसेर आवश्यक गतिविधि अगाडी बढाउने बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस