Techie IT

अछाम बहुमुखी क्याम्पसद्वारा मंगलसैनमा सचेतनामूलक कार्यक्रमसँगै मास्क वितरण


तपाइको मास्क खोइ ? अभियान अन्तर्गत अछाम बहुमुखी क्याम्पसले कोरोना सङ्क्रमण विरुद्ध सदरमुकाम मङ्गलसेनमा सचेतनामूलक कार्यक्रम सहित मास्क वितरण गरेको छ ।

देशभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस र यसको प्रभाव अछाममा समेत देखा परेकोले उक्त भाइरसबाट बच्न मंगलसेन बजारमा नागरिकहरूलाई सचेतामुलक जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको हो ।

कोरोना सङ्क्रमणबाट अत्यावश्यक काममा मात्र बाहिर निस्कने, बाहिर गए अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्ने, एक अर्कामा दूरी कायम गर्ने र घर फर्केमा साबुन पानीले राम्ररी हात धुने बारेमा जानकारी दिइएको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जानकारी दिनुभयो । मास्क नलगाएर आएका व्यक्तिहरूमा क्याम्पसले निःशुल्क मास्क वितरणसँगै सेनिटाइज गरेको थियो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरासहित क्याम्पसबाट सुरु भएको सचेतनामूलक अभियान खुलामञ्च, वैरागी धारा, झारफुंगाधारा हुँदै क्याम्पसमै आएर टुङ्गिएको थियो ।

प्लेकार्डसँगै चेतनामूलक गीतका साथमा बजारमा मास्क नलगाएका व्यक्ति, व्यापारी, कर्मचारी र सर्वसाधारणमा चेतनामूलक अभियानसहित मास्क वितरण गरिएको थियो । जनचेतनामूलक अभियानका क्रममा बजारमा भेटिएका व्यक्तिहरूले अभियान सकारात्मक भएको भन्दै आफूहरू कोरोनाबाट बच्न सुरक्षाका मापदण्ड अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अभियानमा क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहरा, सदस्य रत्नप्रसाद ढुङ्गाना, क्याम्पस प्रमुख छत्रबहादुर विष्ट, सहायक क्याम्पस प्रमुख ध्रुवकुमार शाही, समाजसेवी चन्द्रप्रसाद ढुङ्गाना लगायत क्याम्पसमा प्राध्यापक र कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

क्याम्पसको बाह्य पहुँच कार्यक्रम अन्तर्गत उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । अभियान सञ्चालनका लागि मंगलसेन नगरपालिकाले स्यानिटाइजर र मास्क, स्वास्थ्य कार्यालयले मास्क र डिके स्टोर साँफेबगरले मास्क सहयोग गरेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस