Techie IT

कार्यकालको अन्तिम तिर बान्नीगढीका जनप्रतिनिधि कमाउ धन्दामा : समाजसेवी खत्री (भिडियो सहित)


बान्नीगढी जयगढ गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा आर्थिक लेनदेन भइरहेको समाजसेवी तिलक बहादुर खत्रीले आशङ्का गर्नु भएको छ ।

गाउँपालिकाका विकासे योजना लगायतका कार्यको भुक्तानीका क्रममा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक लेनदेन भइरहेको खत्रीले आशङ्का गर्नु भएको हो ।

गाउँपालिकामा सञ्चालित योजनाको कार्य सम्पन्न भई आवश्यक प्रक्रिया पुरा गरी भुक्तानीका लागी धाउँदा समेत भुक्तानी नहुनुले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक लेनदेन हुने गरेको पुष्टि भएको उहाँको भनाई छ ।

पूर्व जिविस सदस्य तथा कार्यवाहक सभापति समेत रहनु भएका समाजसेवी खत्रीले तिमिल्सैनमा सञ्चालित योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरी रनिंग बिल भुक्तानीका लागी धाउन थालेको १३ दिनसम्म पनि विभिन्न बाहानमा भुक्तानी रोकिएकोमा निकै आक्रोश व्यक्त गर्नु भएको छ ।

आवश्यक पर्ने सबै प्रक्रिया पुरा गरी गाउँपालिका धाउँदा समेत १३ दिनसम्म योजनाको रकम भुक्तानी नभएकोबारे जानकार हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का समेत मौन बस्नु लज्जास्पद भएको खत्रीले बताउनुभयो ।

सबै प्रक्रिया पुरा भइसकेको योजनाको रकम भुक्तानी रोकिएको बिषयमा गाउँपालिकामा गुनासो गर्दा समेत गाउँपालिका अध्यक्ष खड्काले खिस्स हाँसेर कुनै प्रतिक्रिया नदिनु र वडा अध्यक्ष लगायतका जनप्रतिनिधि मौन बस्नुले रकम भुक्तानीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो पुष्टि भएको खत्रीको भनाई छ ।

प्रक्रिया पुरा गरी आएका योजनामा अनावश्यक बहाना देखाई भुक्तानी रोक्नु र यस बिषयमा गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधि समेत मौन बस्नुले योजनाको रकम भुक्तानीमा आर्थिक चलखेल गर्न खोजेको स्पष्ट हुने उहाँले ठोकुवा गर्नुभयो ।

जनप्रतिनिधिसँग गाउँपालिकाको एउटा मात्र बजेट निर्माणको कार्यकाल बाँकी रहेकाले उनीहरू जे जसरी भए पनि आर्थिक आम्दानी गर्नुपर्छ भन्ने मान्यतामा अघि बढेको यस्ता गतिविधिले पुष्टि गरेको समेत उहाँको दाबी छ ।

आफ्नो कार्यकाल सकिनै लाग्दा गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीलाई अगाडी सार्दै विभिन्न योजना तथा गाउँपालिकाबाट भुक्तानी हुने रकममा आर्थिक चलखेल बिना भुक्तानी दिनुहुँदैन भन्ने सम्मको चलखेलमा लागी रहेको खत्रीले आशङ्का गर्नुभएको छ ।

यसै बिच आज हामीले योजनाको रकम भुक्तानी ढिलाइका बिषयमा पूर्व जिल्ला विकास समिति सदस्य तथा समाजसेवी तिलक बहादुर खत्रीसँग कुराकानी गरेका छौ ।

यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाबाट हुने भुक्तानीका बिषयमा विभिन्न निर्माण व्यवसायी तथा उपभोक्ता समितिका पदाधिकारीले समेत महिनौँ दिनसम्म पनि विभिन्न बहाना बाजी गर्दै भुक्तानी रोक्ने गरिएको खुलासा गरेका छन् ।

ती ठेकेदार तथा निर्माण व्यवसायीका अनुसार सबै प्रक्रिया पुरा गरी सक्दा पनि उनीहरूले विभिन्न बहानामा भुक्तानी पाउन सकेका छैन ।

भुक्तानी ढिलाइ हुनुमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहको समेत उनीहरूले सङ्केत गरेका छन् ।

यता बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले भने खत्रीको आरोप अस्वीकार गर्नु भएको छ । भुक्तानीका लागी आएका तर प्रक्रिया नपुगेको बाहेक अरू कुनै पनि फाइल नरोकिएको जोशीको दाबी छ । गाउँपालिकामा कार्य व्यस्तताका कारण १,२ दिन ढिला हुनसक्ने कुरा स्वीकार गर्दै अधिकृत जोशीले आर्थिक लेनदेनकै कारण भने कुनै योजनाको भुक्तानी नरोकिएको बताउनु भएको छ ।

समाजसेवी खत्रीले आफुु व्यवस्थापन समिति अध्यक्ष रहेको अलक नन्दा माद्यामिक बिद्यालयको ३६ लाखको लागतमा निर्माण भइरहेको ४ कोठे पक्की भवनको भुक्तानी रोकिएको बताउनु भएकोमा यता गाउँपालिकाका अधिकृत जोशीले भने आदर्श आधारभूत बिद्यालयको कोठा मर्मत योजनाको रकम भुक्तानीका बिषयमा बिषयान्तर गरी अलक नन्दा माविको भुक्तानीका बिषयमा पन्छिन खोजेको देखिएको छ ।

अलक नन्दा माद्यामिक बिद्यालयको भुक्तानी रोकिएको बारेका प्रश्नमा अधिकृत जोशीले आदर्श आधारभूत बिद्यालयको भुक्तानी बिषयमा जवाफ दिएका छन् । भने अलक नन्दा माविको भुक्तानीबारे प्रतिक्रिया दिएका छैनन् ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस