Techie IT

भालुमारेमा १५ शय्याको अस्पताल बनाउन धमाधम जग्गादान


बान्नीगढी जयगढ गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण गर्न जग्गाधनीले धमाधम जग्गा दान गर्न थालेका छन् ।

गाउँपालिकाको गाउँसभाले १५ शय्याको अस्पताल भालुमारेमा निर्माण गर्ने निणर्य गरे पश्चात वडा नम्बर ५ कालिकाका जग्गाधनीले अस्पताल निर्माणका लागी धमाधम जग्गा दान गर्न थालेका हुन् ।

जस अन्तर्गत शुक्रवार मात्रै अस्पताल निर्माणका लागी ८ रोपनी जग्गा बान्नीगढी जयगढ गाउँपालिकाको नाममा नामसारी गरिएको छ ।

नेपाली काँग्रेसका क्षेत्र नम्बर २ प्रदेश सभा ख का प्रदेश कार्य समिति सभापति डम्बर स्वारका अनुसार कालिका लिडिका ३ जना स्थानीयले शुक्रवार मात्रै ८ रोपनी जग्गा गाउँपालिकाको नाममा नामसारी गरेका छन् ।

कालिका लिडिका उदे लुहारले साढे ५ रोपनी,बल बहादुर रावलले डेढ रोपनी र खडक रावलले डेढ रोपनी जग्गा गाउँपालिकाको नाममा निःशुल्क नामसारी गरेका काँग्रेस नेता स्वारले बताउनुभयो ।

यस्तै केही दिन भित्र अन्य जग्गादाताले पनि जग्गा दान गर्ने कार्यक्रम रहेकाले अस्पताल निर्माणका लागी करिब १५ रोपनी जग्गा नामसारी हुने शिक्षक जगतजय रावलको भनाई छ ।

नेपाल सरकारको प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने नीति अनुरूप बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको भालुमारेमा अस्पताल निर्माण हुने भएको हो ।

अस्पताल निर्माणका लागी केही दिन भित्र टेन्डर आह्वान गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस