Techie IT

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस चौतारी अछामद्वारा शुभकामना व्यक्त


विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले शुभकामना व्यक्त गरेको छ ।

जिल्ला समिति संयोजक कृष्ण बहादुर बुढा र सहसंयोजक टेक बहादुर थापाद्वारा एक विज्ञप्ति मार्फत शुभकामना व्यक्त गर्नुभएको हो । दिवसको अवसरमा सम्पूर्ण पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर सबैमा शुभकामना व्यक्त गरिएको छ ।

नागरिकहरूलाई सुसूचित गर्ने कर्ममा रहेकै बखत जीवन त्याग गर्ने ज्ञात अज्ञात सहिद पत्रकारहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पादकीय अधिकार सहितको पूर्ण प्रेस स्वतन्त्रताको पत्रकारले अनुभूति गर्ने गरी सरकार लगायत राज्यका निकायहरूले अझ बढी सुनिश्चितता प्रदान गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

“अहिले पनि पत्रकारहरूले आत्मविश्वासका साथ आफ्नो पत्रकारिता कर्म गर्न केही न केहीमा सम्झौता गर्नुपर्ने अवस्था रहेको छ । पत्रकारको भौतिक, आर्थिक रुपमा सुरक्षाको प्रबन्धमा सम्बन्धित निकायको विशेष ध्यान जान आवश्यक छ ।” विज्ञप्तिमा उल्लेख छ । जीवनका ऊर्जावान् समय पत्रकारिता क्षेत्रमा बिताएर घर फर्कने बेलामा निराश भएर जानुपर्ने अवस्थाको अन्त्य गरी यस्तो समस्या भोग्न बाध्य मोफसलका पत्रकारहरूको समस्यामा चाँसो र चिन्ता हुन आवश्यक रहेका बताइएको छ ।

सूचना प्रवाहको अग्र मोर्चामा रहेका पत्रकारलाई प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, न्यूनतम पारिश्रमिक, बिमा, नियमानुसारको बिदा लगायतमा ध्यान दिन आवश्यक रहेको भन्दै कोरोना भाइरस (Covid-19) लगायत बिपदका बेलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने अन्य निकायसँगै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन राज्यका निकायको ध्यानाकर्षण गरिएको छ ।

राज्यले यसतर्फ उचित ध्यान दिने अपेक्षा समेत गर्दै प्रेस स्वतन्त्रता सँगै अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारको हक, सूचनाको हक संवैधानिक रूपमै उल्लेख गरिएका कारण मौलिक हकको पूर्ण कार्यान्वयन गर्न समेत पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको जनाइएको छ । नागरिक स्वतन्त्रतासँग जोडिएको प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत गर्न गराउन विज्ञप्ति मार्फत सबैमा अनुरोध गरिएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस