जयगढमा डिप बोरिंग : २० लाख रुपैयाँ गोलमाल गर्ने दाउ

बान्नीगढी जयगढ गाउँपालिकामा डिप बोरिंग मार्फत पानी निकालिएको छ । गाउँपालिकाको केन्द्र रहेको जयगढ बसपार्कमा डिप बोरिंग मार्फत पानी निकालिएको हो ।
डिप बोरिंग मार्फत निकालिएको खानेपानी योजनामा २० लाख रुपैयाँ गोलमाल हुने देखिएको छ । डिप बोरिंग योजनाको लागत रकमबारे ठेकेदार र गाउँपालिका अधिकृतको भनाईमा आकाश पातलको फरक देखिएको छ ।
डिप बोरिंग योजना निर्माणको जिम्मा लिएको नेपाल हाइड्रो कन्स्ट्रक्सनका प्रतिनिधि शंकर तिरुवाले गाउँपालिकासँग ४० लाखमा सम्झौता भएको रेडियो बान्नीगढीलाई बताएका छन् ।
यता बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले भने बढीमा २० लाख भुक्तानी गर्ने गरि सम्झौता भएको उल्लेख गरेका छन् । गाउँपालिका अधिकृत जोशीलाई डिप बोरिंग योजनाको लागत कति हो भन्ने बारे रेडियो बान्नीगढीकर्मीले सोधेको प्रश्नमा उनले बढीमा २० लाखमा सम्झौता भएको जानकारी गराएका छन् ।
सम्झौतामा स्पष्ट उल्लेख होला नि भन्ने प्रतिप्रश्नमा उनले सम्झौतामा उल्लेख गरिएको रकमबारे स्पष्ट ध्यान नभएको भए पनि बढीमा २० लाख रकममा सम्झौता गरिएको बारम्बार दोहोर्याएका छन् ।
निर्माण कम्पनीका प्रतिनिधि शंकर तिरुवाले भने ४० लाखमा सम्झौता भएको दाबी प्रस्तुत गर्नु र यता आर्थिक अख्तियार सहित अधिकार प्राप्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले बढीमा २० लाखमा सम्झौता गरिएको दाबी गर्नुले यो योजनामा आर्थिक अनियमितताको आशङ्का सहजै गर्न सकिन्छ ।
गाउँपालिका अधिकृत जोशी र निर्माण कम्पनी नेपाल हाइड्रो कन्स्ट्रक्सन प्रतिनिधि तिरुवासँग गरिएको कुराकानीको अडियो क्लिप रेडियो बान्नीगढीसंग सुरक्षित छ ।
डिप बोरिंग योजनाबारे जनप्रतिनिधिबिच नै मतभेद देखिएको छ । गाउँपालिकाका वडा नम्बर ५ कालिकाका वडा अध्यक्षले डिपबोरिंग खानेपानी योजनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
उता वडा नम्बर ४ तिमिल्सैनका वडा अध्यक्ष कर्ण ठकुल्लाले भने डिपबोरिंग मार्फत पानी निकाल्ने बिषयमा बेला बेला छलफल हुने गरेको भए पनि कार्यपालिका बैठकबाट निर्णय गरिएको तथा नगरिएको बिषयमा भने आफूलाई यकिन जानकारी नभएको प्रतिक्रिया दिनु भएको छ ।
डिपबोरिंग योजनाको लागत के कति हो भन्नेबारेको प्रश्नमा भने वडा अध्यक्ष ठकुल्लाले यस बिषयमा गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउँदलाई जानकारी हुने दाबी गर्नुभयो ।
यस्तै वडा नम्बर २ जनालीकोटका वडा अध्यक्ष नेत्र बहादुर साउँदले पनि डिप बोरिंग खानेपानी योजनाको लागतका बिषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नै जानकारी हुने उल्लेख गरेका छन् ।
वडा नम्बर ४ का वडा अध्यक्ष कर्ण कुल्लाका अनुसार डिपबोरिंग खानेपानी का लागी निर्माण कम्पनीको खोजी नीति कार्य गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँदले गरेका हुन ।
गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले पनि डिप बोरिंग योजनाको लागत ४० लाख रहेको दाबी गर्दै आएका छन् । खानेपानी शीर्षकमा यस आर्थिक वर्षमा ३० लाख गाउँपालिकाले विनियोजन गरेको र १० लाख अन्य शीर्षकबाट व्यवस्थापन गर्नुपर्ने प्रतिक्रिया उपाध्यक्ष साउँदले दिएका छन् ।
तर गाउँपालिकाको वेभसाईटमा राखिएको आर्थिक वर्ष २०७७।७८ को वार्षिक बजेट तथा कार्यक्रममा भने डिपबोरिंगबारे कुनै पनि योजना समावेश गरेको पाइँदैन ।
अछाममा दोस्रो लहरको कोरोना सङ्क्रमण बान्नीगढी जयगढ गाउँपालिकामा देखिएको छ । दोस्रो लहर पछि मात्र गाउँपालिकाका १ सय १७ जनामा सङ्क्रमण भएको छ भने २ जनाको मृत्यु भइसकेको छ ।
यस विषम परिस्थितिमा गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पताल सञ्चालनमा आउन नसकेको तथा भर्ना गरिएका २ जना कर्मचारी समेत काम विहीन भएको अवस्थामा खानेपानी योजनाका नाममा आर्थिक अनियमितताको चलखेल हुनुले जनप्रतिनिधिको गैर जिम्मेवारीता उदाङ्गो भएको पूर्व जनप्रतिनिधि जगत रावलले बताउनुभयो ।
यस्तै केही दिन पहिले मात्र पूर्व जिल्ल विकास समिति सदस्य तीलक खत्री तिमिल्सिनाले बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि कार्यकालको अन्तिम तिर कमाऊ धन्दामा लागी परेको आरोप लगाउनु भएको थियो ।
हाल खानेपानी योजनाजस्तो महत्त्वाकाङ्क्षी योजनाको लागतका बिषयमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले लागतबारे गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मात्र यस बिषयमा जानकारी भएको बताई रहनुले पनि योजनाको कामको पारदर्शितामा आशङ्का पैदा गरेको छ ।
यस्तै ४० लाखमा सम्झौता भइसकेको ठेकेदारको दाबीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले २० लाख भन्दा बढीमा सम्झौता नभएको उल्लेख गर्दै गर्दा गाउँपालिका उपाध्यक्षले भने ४० लाखमा योजना सञ्चालन गरिएको दाबी गर्नुले योजनामा आर्थिक चलखेलको आशङ्का गर्ने ठाउँ प्रशस्त भेटिएका छन् ।
स्वयम २० लाख भन्दा माथिको सम्झौता नभएको दावी गरेको गाउँपालिका अधिकृत जोशीले योजनाको कति रकम भुत्तानी दिन्छन् त्यो भने हेर्न बाँकि नै छ ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस