Techie IT

अछाममा मास्क नलगाउने २८ जनालाई कारबाही


दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि अछाम प्रहरीले पनि कडाइ गरेको छ ।

अछाम प्रहरीले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्न थालेको हो ।

कोरोना सङ्क्रमण फैलिँदै गए पनि स्थानीयले लापरबाही गरेको र त्यसलाई नियन्त्रण गर्नको लागि अछाम प्रहरीले मास्क नलगाउनेहरूमाथि कारबाहीको सुरु गरेको जनाएको छ ।

आवश्यक कामको लागि होस वा व्यापारी, कर्मचारी जोसुकैले सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गरी प्रहरीले मास्क वितरण गर्ने कार्य सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार अछाममा समुदाय स्तरमै कोरोना सङ्क्रमण बढ्दै गएको जोखिम र पटक पटकको आह्वान गर्दा पनि आम नागरिकको लापरबाही गरेकाले कारबाहीको सुरु गरिएको हो ।

उहाँका अनुसार मास्क नलाउनेहरूलाई जरिवाना बापत १०० रुपैयाँ असुल्ने र त्यसको सट्टामा मास्क उपलब्ध गराउने कार्य सुरु गरिएको हो ।

वैशाख १९ गतेबाट सुरु भएको कारबाहीबाट अहिले सम्म २८ जनालाई कारबाही गरिएको र २८ सय रुपया राजश्व सङ्कलन भएको सूचना अधिकारी बोहराले बताउनुभयो ।

अछाम जिल्लामा दिन प्रतिदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको कमलबजार पिसिआर प्रयोगशालाको तथ्याङ्कले देखाएको छ ।

आज बिहीबार मात्र अछाममा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणको सङ्ख्या बढिरहँदा समेत मानिसहरूले सावधानी अपनाएको पाइँदैन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस