अछामका गाउँमा रोकिएन बालविवाह, बर्बाद हुँदैछ बालिकाहरूको जीवन !

कानूनले बालविवाहलाई गैरकानूनी माने पनि गाउँ–समाजमा यसले निरन्तरता पाइरहँदा बालिकाको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण उनीहरूको जीवन नै बर्बाद भइरहेको छ ।
गएको वर्ष अछामको रामारोशन गाउँपालिकाकी रमिता (परिवर्तित नाम) ले १५ वर्षको उमेरमा छिमेकी गाउँका १८ वर्षे युवकसँग विवाह गरिन् ।
उनले भागेर विवाह गरेकी थिइन् । तर, यति कम उमेरमै विवाह गर्न मन नभए पनि बाध्य बनेको उनले सुनाइन् । कक्षा ८ मा पढ्दै गरेका बेला रमितालाई ती युवकले मनपराए, र विवाह गर्न कर गर्न थाले ।
उनको आमाबुवालाई युवकले विवाहका लागि फकाउने निकै कोशिश गरे, तर अभिभावक मानेनन् । अन्ततः ‘इज्जत जाने डरले’ त्यही केटासँग २८ कात्तिक २०७७ मा भागेर विवाह गरिन् । रमिताले शिक्षालाई प्राथमिकतामा राखेकी थिइन् ।
विवाहपछि पनि उनको पढाइलाई निरन्तरता दिने दुवैबीच सहमति भएको थियो । तर, विवाहपछि उनी विद्यालय जान पाइनन् । त्यही विषयमा उनीहरूबीच झगडा हुन थाल्यो । रमिताको गाउँमा उनले जस्तै सानै उमेरमा विवाह गर्ने २० जनाभन्दा बढी बालिका छन् ।
तीमध्ये अधिकांश बालिका आमा समेत बनिसके । सानै उमेरमा विवाह गर्दा बालिकाहरू शिक्षाबाट वञ्चित हुने, प्रजनन अधिकारबारे बेखबर रहेर स्वास्थ्यमा जोखिम निम्तिने र विभिन्न शारीरिक र मानसिक समस्याको चपेटामा पर्ने गरेका छन् । सोही गाउँकी १५ वर्षीया उर्मिला (नाम परिवर्तन) ले पनि दुई वर्षअघि २० वर्षीय पुरुषसँग विवाह गरेकी हुन् ।
कमजोर आर्थिक अवस्थाका कारण दुःखमा हुर्केकी उनले सुखले बस्न र खान पाउने आशामा १३ वर्षमै विवाह गरिन् । त्यसपछि पनि श्रीमान्को कुटपिटको सिलसिला नरोकिएपछि उर्मिलाले एक साथीसँग बह पोखिन् । उनकी साथी किशोरी समूहकी सदस्य थिइन् ।
उनको समस्याबारे समूहमा छलफल भयो र समूहमा आबद्ध किशोरीहरूले उनका आमाबुवालाई सम्झाए । उक्त गाउँमा रहेको नवदुर्गा माध्यमिक विद्यालयमा गठित नवदुर्गा किशोरी समूहकी अध्यक्ष हस्तना खत्रीका अनुसार, पछिल्लो एक वर्षमा विद्यालयमा पढ्ने ५ जना किशोरीले १८ वर्ष नपुग्दै भागेर विवाह गरेका छन् । पछिल्लो बन्दाबन्दीकै अवधिमा १४÷१५ वर्षका तीन किशोरीले भागेर विवाह गरे ।
समाजमै गुपचुप राख्ने प्रवृत्ति
नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ ।
कसैले २० वर्ष उमेर नपुगी विवाह ग¥यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
यद्यपि गाउँ–समाजमा बालविवाह रोकिन सकेको छैन । बन्दाबन्दीमा बालविवाहको दर अझ बढेको चौरपाटी गाउँपालिकाका अधयक्ष हर्क बहादुर साउँदले बताउनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस