Techie IT

बान्नीगढीका जनप्रतिनिधि साझा बन्न सकेनन् : समाजसेवी खड्का (भिडियो सहित)


बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि जनताका साझा जनप्रतिनिधि बन्न नसकेको समाजसेवी भरत बहादुर खड्काले बताउनु भएको छ ।

समृद्ध जयगढ गन्तव्य अभियानको आयोजनामा सञ्चालन गरिएको भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार विषय अन्तरक्रिया कार्यक्रममा शुक्रवार प्रमुख वक्ताको रुपमा बोल्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रममा युवाहरूका माझ बोल्दै समाजसेवी खड्काले बान्नीगढी जयगढ गाउँपालिका भित्रका विभिन्न व्याप्त समस्याको खुलासा गर्नु भएको थियो ।

कमसल मदिरा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले उक्त निर्णय विभिन्न व्यक्तिको प्रभावमा परेर कार्यान्वयनमा ल्याउन नसकेको खड्काले खुलासा गर्नु भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका कसैको निजी घर नभएको बताउँदै समाजसेवी खड्काले बान्नीगढी जयगढ गाउँपालिका भित्र हुने सबै गतिविधिमाथि आम नागरिकले चाँसो लिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकामा स्वास्थ्य,शिक्षा, विकास निर्माण सबै क्रियाकलापमा पारदर्शिता र गुणस्तरीयतामाथि थुप्रै आशङ्का पैदा भईरहको बताउँदै उहाँले यस्ता विषयको खोजीनिती गर्नुपर्ने बताउनुभयो ।

जयगढ बजारको शोभाको रुपमा रहेको सरस्वती मन्दिर समेत पुन निर्माण हुन नसक्नु,आफ्ना नजिकका कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट उपलब्ध गराउनु, जयगढमा व्याप्त खानेपानीको हालसम्म समाधान गर्न नसकिएको भन्दै समाजसेवी खड्काले जनप्रतिनिधिको कुशलता माथी प्रश्न गर्नुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकाले नागरिकहरूलाई सूचनाको हकबाट समेत वञ्चित गराएको उल्लेख गर्दै उहाँले गाउँ सभा र गाउँपालिकाको सार्वजनिक सुनुवाइ गोप्य कोठामा गरिनुले यसको पुष्टि गरेको बताउनु भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकालाई भ्रष्टाचारमुक्त र समृद्ध गाउँपालिका बनाउन सबै युवाहरू जागरूक हुनुपर्ने रे अभियान सुरुवात गरिएकोप्रति खुसी व्यक्त गर्दै अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तारा पाण्डेको संयोजकत्वमा गठित समृद्ध जयगढ गन्तव्य अभियानद्वारा जेठ ११ गते देखी १७ गतेसम्म भ्रष्टाचारमुक्त बान्नीगढीका लागी युवाको सरोकार विषय सप्ताहव्यापी भर्चुअल अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका स्थायी ठेगाना भएका विभिन्न क्षेत्र तथा ओहोदामा रहनु भएका ७ जना अतिथि र युवाहरू बिच दिनै पिच्छे अन्तरक्रिया भइरहेको छ ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस