Techie IT

अछाममा इन्जिनियर उत्पादन गर्ने बिद्यालयको आफ्नै भवन गुणस्तरहीन


मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वलिगाउँको पहिचान नै अलग छ । प्राविधिक शिक्षालयको रुपमा रहेको उक्त विद्यालयको नाम नेपालका दूरका जिल्ला सम्म पुगेको छ ।

सिभिल इन्जिनियरिङ पढाइ हुने यो विद्यालयको ख्याति सबैतिर छ । साबिकको वलिगाउँ गाविस ( मंगलसैन नगरपालिका ९ ) मा रहेको बिध्यालयमा हरेक वर्ष एसएलसी र डिप्लोमामा भर्ना हुन टाढा बाट पनि विद्यार्थी पुग्छन् ।

विद्यालय प्राविधिक शिक्षाको पढाइका कारण चर्चित मंगला नेपाल राष्ट्रिय मावि यति बेला फरक कारणले चर्चामा रहेको छ ।

समुदाय स्तरबाट विद्यालयमा निर्माण भइरहेको भवन लगायतका संरचना गुणस्तरीय नभएको गुनासो आएपछि सिभिल इन्जिनियरिङ पढाउने विद्यालय विवादको मझधारमा पुगेको छ ।

सुदूरपश्चिमका पहाडमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने मध्य अग्रणी विद्यालयको नाम यति बेला बदनाम भइरहेको छ ।

केही जागरूक युवाले सामाजिक सञ्जाल बाट खबरदारी गरेपछि सुरु भएको विवाद शान्त भएको छैन । यसरी खबरदारी गर्नेहरुले सडक,भवन,खानेपानी,ढल,सिचाई,पुल,लगायतका पूर्वाधारको निर्माणका लागी दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको गुणस्तरहीन काम प्रति चिन्ता व्यक्त गरेका छन् ।

विवादको सुरुवात विद्यालयमा निर्माण गरिएको ४ कोठे भवन बाट सुरु भएको हो । उक्त भवनको भुईँ तलामा पानी चुहिने समस्या देखिएको छ भने निर्माण हुँदै गरेको माथिल्लो तलाको दिवाल पिलर भन्दा बाहिर देखिएको छ ।

खबरदारी गर्नेहरूका अनुसार भवनको पिलर बाङ्गो निर्माण गरिएका कारण दिवाल बाहिर देखिएको हो । जानकारहरूका अनुसार भवन निर्माणमा पिलर भन्दा दिवाल बाहिर देखिँदा सामान्य जस्तो लागे पनि यसलाई गम्भीर संरचनागत त्रुटि मानिन्छ ।

यति मात्र होइन भुईँ तला र माथिल्लो तलाको पिलर सर्नुले भवनको भार पिलरको सेन्टरमा नपर्ने हुन्छ यस्तो भयो भने सानो भूकम्पमा पनि भवन भत्किन सक्ने जोखिम रहन्छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेट मार्फत रु ४० लाखको लागतमा निर्माण हुँदै गरेको विद्यालयको भवनको माथिल्लो तलामा बिम र पिलर बिच ५ सेन्टिमिटर भन्दा बढीको फरक देखिएको छ । धेरै पिलर प्रस्ट बाङ्गो देखिन्छन् । साथै विद्यालयमा गत वर्ष भवनको भुईँ तलाको राम्रो काम नभएको गुनासो पनि धेरै सुनिन्छ । माननीय यज्ञ बहादुर बोगटीको सांसद विकास कोषको ५४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको भुईँ तलामा पानी चुहिने समस्या देखिएको छ ।

भिडियो : भुईँ तलामा पानी चुहिने समस्या :-

भवन निर्माणका क्रममा गम्भीर लापरबाही भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । समुदाय स्तरबाट ठुलो विरोध भएको छ ।बिद्यालयको भवन निर्माणमा वाल र पिलर बिच ५ सेन्टिमिटर बढीको समस्या देखिएपछि स्थानीय युवाहरूले सामाजिक सञ्जाल मार्फत यस बिषयमा विरोध जनाएपछि योजनाको लापरबाही सार्वजनिक भएको हो ।

सामाजिक सञ्जालमा बिद्यालयको भवन निर्माणबारे स्थानीय युवा दीपक रावलले स्टाट्स लेख्दै टेन्डर मार्फत गत वर्ष भवन निर्माण गर्दा भवनको तल्लो तलाको १६ वटा पिलर गुणस्तरीय रुपमा निर्माण नभएको भन्दै भत्काएकोमा यस वर्ष आफै काम गर्दा माथिल्लो तलामा ६,७ वटा पिलर र वालबिचको तालमेल करिब ५ सेन्टिमिटर रहेकोमा किन वास्ता नगरिएको भन्ने प्रश्न गरेका छन् भने आर्थिक चलखेल गरिएको हो कि भन्ने पनि आशङ्का व्यक्त गरेका छन् ।

दीपक रावलको फेसबुक स्ट्याटस :

हाल भवनको माथिल्लो तला विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैरव सिंह बोहरालाई भवन निर्माणका क्रममा पिलर र वाल बिच ५ सेन्टिमिटर बढीको फरक देखिएको तथा पिलर बाङ्गो समेत भएको बिषयमा प्रश्न गर्दा उनले प्राविधिकको निर्देशन अनुसार नै भवन निर्माण भइरहेको बताएका छन् ।

आफूलाई प्राविधिक ज्ञान नहुने बताउँदै उनले भवनको पिलर तथा वाल प्राविधिककै निर्देशन अनुसार निर्माण गरिएको उल्लेख गरेका छन् ।

बोहराको भनाइमा भवनको तल्लो तल्ला निर्माणका क्रममा नै समस्या भएका कारण माथिल्लो तलाको पिलर र वाल बिच तालमेल नमिलेको हो ।

हाल योजना हेर्दै आएका सामाजिक विकास मन्त्रालयका सब इन्जिनियरलाई पिलर र वाल बाङ्गो भएको बिषयमा विरोध भएकोबारे जानकारी गराउँदा काममा कुनै समस्या नभएको तिँ प्राविधिकले बताएको अध्यक्ष बोहराले उल्लेख गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैरव सिंह बोहरासँग गरिएको कुराकानी :-

गत वर्ष निर्माण गरिएको भवनमै समस्या भएको कारण माथिल्लो तलाको बिम र वालमा समस्या भएको अध्यक्ष बोहराले बताएपछि हामीले गत वर्ष टेन्डर मार्फत भवन निर्माणको जिम्मा पाएको के.एस. कुँवर विल्डर प्रा.लि.का जितेन्द्र स्वारसंग यस बिषयमा कुराकानी गरेका छौ ।

कुराकानीका क्रममा स्वारले गत वर्ष भवन निर्माणको काममा आफ्नो कुनै गल्ती नभएको दाबी गरेका छन् । भवन निर्माणको काम स्टमेट अनुसार नगरेको भए आफूले कसरी भुक्तानी पाउँथ्यौ र भन्दै स्वारले आफूलाई यसको दोष दिनु उचित नहुने बताएका छन् ।

के.एस. कुँवर विल्डर प्रा.लि.का जितेन्द्र स्वारसंग गरिएको कुराकानी :-

भवनको दोस्रो तलाको पिलर र छतको ढलान गर्दा इन्जिनियरले आवश्यक समय नदिएको समेत खुलेको छ । भवन निर्माण कार्यको स्थलगत अनुगमनका लागी रेडियो बान्नीगढीका प्रतिनिधि निर्माण स्थल पुग्दा छत ढलानको काम भइरहेको भए पनि त्यहाँ कुनै पनि इन्जिनियर भेटिएनन् ।

छत ढलानका क्रममा थोरै मात्र समय निर्माण स्थलमा उपस्थित भएका सम्बन्धित इन्जिनियर भवनको पिलर भर्ने क्रममा समेत निर्माण स्थलमा उपस्थित नभएको खुलेको छ ।

जनशत्तीको अभावका भवनको सबै जसो ढलानमा स्वयम इन्जिनियरहरू उपस्थित हुन सक्ने सम्भावना इन्जिनियर प्रेम महराले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको अछाम स्थित सामाजिक विकास कार्यालयका सब इन्जिनियर तथा यस योजनका साइड इन्चार्ज प्रेम महराले भवनको वाल र पिलर बिच तालमेल नहुनुको मुख्य कारण भुईँ तला निर्माणका क्रममा गल्ती भएको दाबी गरेका छन् ।

भवनको दोस्रो तला निर्माणका क्रममा वाल र पिलर बिच तालमेल नमिलेको विषय स्वीकार गर्दै इन्जिनियर महराले तल्लो तलादेखि नै पिलर बाङ्गो भएका कारण यस्तो समस्या आएको बताए ।

पिलर र वालबिच तालमेल हुनु त्रुटि मानिने र तल्लो तलाबाट नै पिलर बाङ्गो गएका कारण माथिल्लो तलामा २ इन्च पिलर र डन्डी ४ इन्च सरेको भए पनि यसलाई सुधार्ने अन्य कुनै विकल्प नभएपछि त्यतिकै निर्माण गर्नुपर्ने बाध्यता आएको महराको भनाइ छ ।

भवनमा जानाजान योजनाबद्ध तरिकाले कुनै पनि त्रुटि नगरिएको र भवनको गुणस्तरीयता कायम गर्न सक्दो प्रयास गरिएको दाबी महराले गरेका छन् ।

भिडियो : सब इन्जिनियर तथा यस योजनका साइड इन्चार्ज प्रेम महरासँग गरिएको कुराकानी :-

यता मंगलसैन नगरपालिकाका इन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख खम्म बहादुर केसीले भने भवनको भुईँ तलामा त्रुटि भएको आरोप अस्वीकार गरेका छन् ।

भवनको ढलान भइसकेपछि बिमहरु कसैले चलाएका कारण रडहरू केही तल माथि गएको हुन सक्नेमा डाइसको तथा फर्माको प्रयोग गरेर सुधार्ने तर्फ वास्ता नगरेको हुन सक्ने आशङ्का के.सीको आशङ्का छ ।

गत वर्ष नगरपालिका मार्फत भवनको निर्माण कार्य गरिएकोमा भवन निर्माणका क्रममा भएका त्रुटि तथा गल्तीहरू ठेकेदारलाई पुनः निर्माण गर्न लगाइएको केसीले उल्लेख गरेका छन् ।

भिडियो :- मंगलसैन नगरपालिकाका इन्जिनियर तथा पूर्वाधार शाखा प्रमुख खम्म बहादुर केसीसँग गरिएको कुराकानी :-

बिद्यालयको भवन निर्माणमा विभिन्न राजनीतिक दलका अगुवा समेतको मिलेमतो रहेका स्थानीयको आरोप छ । उनीहरूका अनुसार अगुवाहरूको मिलेमतो भएकै कारण बिद्यालयको भवनको काम गुणस्तरहीन भए पनि उनीहरू मौन रहेका छन् ।

दक्ष प्राविधिक उत्पादन गर्ने बिद्यालय जहाँ ईन्जिनियरहरु शिक्षक छन् त्यहि बिद्यालयको भवन त गुणस्तरहिन निर्माण भईरहेको छ भने जिल्लाका अन्य बिद्यालयका भवनको गुणस्तर कस्तो होला ?


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस