Techie IT

राष्ट्रपति महिला उत्थान कार्यक्रम : अछाममा ९ जना सुत्केरीको उद्धार


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत अछामका ९ जना महिलाको नि शुल्क हवाई उद्धार गरिएको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धि कार्यविधि अनुसार उनीहरूको उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ देखि जिल्लामा सुरुवात भएको यस कार्यक्रम अन्तर्गत हालसम्म ९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रशासनका अनुसार २०७६ भदौ २९ गते कमलबजार नगरपालिका वडा नम्बर १ का इन्द्रा किकको हवाई उद्धार गरिएको छ ।

यस्तै २०७६ चैत्र २३ गते कमलबजार नगरपालिका वडा नम्बर ५ का बेलादेवी भण्डारी, २०७७ वैशाख २७ गते रामारोशन गाउँपालिका वडा नम्बर ६ का देउमा साउदको हवाई उद्धार गरिएको प्रशासनले जनाएको छ ।

यस्तै २०७७ ज्येष्ठ ३ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का तुलसी वड, २०७७ असार १० गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का मनीषा उखेडाको पनि हवाई उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार २०७७ असार २९ गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का रमिता विक, २०७७ भदौ ३ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ का सुरा भण्डारीको पनि हवाई उद्धार गरिएको हो ।

यसैबिच २०७७ असोज ३० गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का कोपिला विक र २०७७ चैत्र ११ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का चन्द्रा शाहीको हवाई उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्ध बहादुर मल्ले जानकारी दिनुभयो ।

लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएमा, गर्भमै बच्चाको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्यधिक रक्तस्राव भएमा, रक्त अल्पता भएमा, वर्थिङ सेन्टरमा सुत्केरी गराउँदा अचानक आमाको अवस्था असामान्य भएर अत्यधिक रक्तस्राव भई बेहोस भएमा, विभिन्न खालका कम्पन आएमा, आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालको सिफारिसका आधारमा स्थानीय प्रशासनले हवाई उद्धारका लागि प्रक्रिया अघि बढाएर हेलिकोप्टर झिकाउने गरेको छ ।

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्ध बहादुर मल्ले रेडियो बान्नीगढीसंग बताउनुभयो ।

कुराकानी : रुद्ध मल्ल ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस