Techie IT

अछाममा एक महिलाले बाटोमै बच्चालाई जन्म दिइन्


अछामको ढकारी गाउँपालिकाका एक जना महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छन् ।

ढकारी गाउँपालिका वडा न २ भलाने निवासी पवित्रा देवी बुढालाई सुत्केरी बेथा लागेपछि स्वास्थ्य संस्था लैजाँदा बाटोमै बच्चालाई जन्म दिएकी हुन ।

टोल सम्म सडक पनि नपुगेको र स्ट्रेचरमा बोकेर ल्याउँदा ल्याउँदै बाटोमै बच्चालाई जन्म दिएकी उनका श्रीमान् मदन बहादुर बुढाले बताउनुभयो ।

गाउँ नजिक स्वास्थ्य संस्था नभएकाले टाढाको स्वास्थ्य चौकी सम्म लिनका लागी बोकेर लैजाँदै गर्दा सुत्केरी बेथाले च्यापेपछि बाटोमै बच्चालाई जन्म दिएपछि आफन्तहरूले बोकेर स्वास्थ्य संस्थामा पुर्‍याएका थिए ।

भलानेको बुढाको टोलबाट स्वास्थ्य संस्थामा जान ३ घण्टा भन्दा बढी समय लाग्ने गरेको छ । बर्षायामको समय त्यसैमा बाटो चिप्लो भएकाले समयमै स्वास्थ्य संस्थामा पुगाउन नसकिएको बुढाले बताउनुभयो ।

बाटोमा असुरक्षित ढङ्गले सुत्केरी भएकी बुढालाई आफन्तहरूले बोकेर स्वास्थ्य संस्थामा पुर्‍याएपछि स्वास्थ्यकर्मीले थप परामर्श गरेका थिए । उक्त टोलमा सडक पुर्‍याउन अहिले सम्म कुनै पनि निकायले ध्यान नदिएको त्यस क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।

आफ्नो टोलका जो सुकै व्यक्ति बिरामी हुँदा गाउँबाट जङ्गलको बाटो हुँदै ल्याउनुपर्ने बाध्यता भएकाले भलानेका स्थानीयलाई निकै समस्या भएको सुत्केरी महिला बोकेर ल्याएका स्थानीय नर बहादुर साउदले दुखेसो व्यक्त गर्नुभयो ।

धेरै वर्ष भयो मेरो सम्झना भरि गाउँमा कोही बिरामी हुँदा यसरी नै बोकेर लिनुपर्ने बाध्यता छ यसको अन्त्य कहिले सम्म हुने हो हामीलाई निकै पिडा छ साउदले बताउनुभयो ।

गाउँमा समय समयमा विभिन्न खालका बिरामीहरू भई रहने र उनीहरूलाई यसरी नै रात अधरात नभनी बोकेर ल्याउनुपर्ने र जङ्गलको बाटोमा राति लिँदा अन्य जङ्गली जनावरको समेत डर हुने गरेको उहाँको भनाइ थियो ।

गाउँ बाट स्वास्थ्य चौकी निकै टाढा छ मान्छेको ज्यान जोगाउनै पर्ने विकटमा त निकै समस्या छ हजुर भन्दै साउदले यस तर्फ सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यो गाउँका अधिकांश बिरामी हुनेलाई यसरी नै स्ट्रेचर र डोकोमा बोकेर स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता कायमै रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले त्यो गाउँका अधिकांश स्थानीयहरू सानोतिनो विराम लुकाएर बस्ने गरेका छन् ।

नजिक स्वास्थ्य संस्था छैन टाढा छ जाऊँ भने ३÷४ घण्टा लाग्छ त्यही कारणले सानोतिनो रोग कतिपय अवस्थामा लुकाएर बस्ने गरेको स्थानीयले दुखेसो गरेका छन् ।

अधिकांशले समयमै उपचार नपाएर ज्यान गुमाएका छन् भने उपचार पाउनेहरूले पनि विभिन्न खालका समस्याहरू झेली रहेका छन् । भलानेका स्थानीयले जतिसक्दो चाडै आफ्नो टोलमा कि सडकको व्यवस्थापन गर्नुपर्ने र नभए टोल मै स्वास्थ्य सेवा दिने वैकल्पिक व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

रामारोशन राष्ट्रिय दैनिकको सहयोगमा


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस