Techie IT

२ महिनादेखि सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल


टेकराज भण्डारी, भदौ ३१, अछाम

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद कुरा भएको बताउनु भएको छ ।
नेकपा एमाले विभाजन पछि पहिलो पटक अछाम आउनुभएका एमाले उपाध्यक्ष रावलले सदरमुकाम मङ्गलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाउनु भयो ।

“दुई महिनादेखि सरकार विस्तार भएको छैन, सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्, यो जनताप्रतिको चरम उदासीनता हो” नेता रावलले बताउनु भयो ।
उहाँले थप्नुभयो, “नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भए देखि हालसम्म नभएको घटना भएको छ । बजेट संसदबाट पारित हुन नसकी अब सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ, यो भन्दा दुःखपूर्ण अरू के हुन्छ।” एमाले उपाध्यक्ष रावलको भनाइ छ ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिनुभयो ।

दुई नेता (केपी र माधव) बिच सहमति भई पार्टीलाई मिलाउनुपर्छ भनेर कार्यदल बनाएदेखि आफूले पार्टी एकताकै लागि काम गरिरहेको जिकिर गर्दै पार्टी टुटफुटको पीडा सिङ्गो देश र एमालेले नराम्राेसंग भोगिसकेकाले पार्टी विभाजन कुनै हालतमा देश हितमा नरहेको धारणा राख्नुभयो ।

आफूले विषय र गुणदाेषका आधारमा बोल्ने गरेको तर राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दा माथि रहने पूर्व उपप्रधान, गृह तथा रक्षा मन्त्री रहनु भएका नेता रावलको भनाइ छ । “हरेक देशभक्त व्यक्तिले राष्ट्रियता, स्वाधीनता तथा अखण्डतामा प्रश्न उठ्ने बेला देशलाई माथि राख्नुपर्छ ” नेता रावलको भनाइ छ ।

आफूले वर्षौँदेखि माया गरेका र भरोसा गरेको एमालेको पङ्क्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरूलाई समयले नै जवाफ दिने बताउनु भयो ।
एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

अध्यादेशबाट एमाले विभाजन भए पछि अछाममा एमालेबाट निर्वाचित स्थानीय तहका २ सय १५ जना जनप्रतिनिधि मध्ये २७ जनाले नेकपा (एकीकृत) समाजवादीमा शनाखत गराएका छन् ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!