Techie IT

संसद खुलाउन सत्तापक्षले भूमिका खेल्नुपर्ने : एमाले उपाध्यक्ष रावल


टेकराज भण्डारी
नेकपा एमालेका उपाध्यक्ष डाक्टर भीम रावलले संसदको अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाउनु भएको छ ।

वर्तमान सरकार तथा सात्ता साझेदारहरु संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको भन्दै नेता रावलले उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल नगरेको बताउनु भएको हो ।

प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकाल सम्मेलन कार्यक्रममा एमाले नेता रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिको सार्वभौम थलो संसद भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताउनु भयो ।

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले जनताप्रतिको उदासिनताकै कारण अहिले बजेट खर्च नपाउने अवस्था सिर्जना भएको बताउनु भयो ।

नेपालको ईतिहासमै यो पहिलो पटक समस्या आएको भन्दै यस्तो हुँदा समेत सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता नरहेको दाबी गर्नुभयो । २ महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को बिडम्बना भएको उहाँको भनाई छ ।

राजनीतिक दल विभाजित हुन नहुने भन्दै पूर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री रहनु भएका नेता डाक्टर रावलले नेपालको संविधान जारी गर्दा निकै मेहनतका साथ राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको स्मरण गर्नुभयो ।

दुबै मध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै बिरोध गर्ने वर्तमान सत्ता साझेदार दलले अहिले कुनै एउटामा मात्रै २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याएको भन्दै यस कार्यको निन्दा गर्नुभयो ।

देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ । “नेपालीलाई तुईन काटेर नदीमा फालियो, अनधिकृत रुपमा नेपाली आकाशमाथी हेलिकप्टर उडाईयो, एमसीसी पास गर्न दबाद दिँदै नेताको दैलो चहारियो तर यसका बिरुद्ध कुनै ठोस कार्य भएन” नेता रावलले थप्नु भयो –“लिपुलेक लिम्पियाधुरा, कालापानीलाई सरकारले यो समस्या हो भन्यो ।” उहाँले यसबारे भारतसंग वार्ता गरी भूमि फिर्ता ल्याउने भन्नुपर्ने सुझाउनु भयो ।

पार्टी विभाजनपछि पहिलोपटक गृहजिल्ला अछाम पुग्नुभएका नेता रावलले आफुलाई पार्टी एकताको जिम्मा दिई कार्यदल बनाएपछि निकै मेहनताका साथ १० बुँदे सहमति बनाईएको र यसकै आधारमा अघि बढ्नुपर्नेमा पार्टी विभाजन गरिएको बताउनु भयो ।

एमाले र एमालेबाट अलग हुनेले पार्टी विभाजनको नमिठो स्वाद चाखिसकेकाले विभाजनले पार्टी, देश र जनता कसैको हित नहुनेमा प्रट्याउनु भयो । आफुले कामका आधारमा, विषय र प्रसंगका आधारमा बोल्ने गरेको भन्दै आफ्नो चिन्ता पार्टीको हित र देशको भलाई नै रहेको दाबी गर्नुभयो ।

एमाले २०७५ जेठ २ मा फर्किने कुरालाई पार्टीले निर्णय गरी यसको कार्यान्वयन भैसकेको अवस्थामा अब ढुलमुल हुने अवस्था नरहेको नेता रावलको भनाई छ । पार्टी विधान अनुसार आफु पार्टीको उपाध्यक्ष र सुदूपश्चिम संयोजक रहेको उहाँले बताउनु भयो ।

पार्टी अध्यक्ष केपीशर्मा ओलीसंग पनि त्यही कुरा कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफु सहति लेखराज भट्ट र कर्ण थापाको टोलीले सहजीकरण गर्ने निर्देशन आएको रावलको भनाई छ । सबै नेता कार्यकर्ताको प्रयासले एमाले पुरानै अवस्थामा आउने रावलको विश्वास छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले अछामका उपाध्यक्ष नन्दसिंह कडायत, प्रदेश कमिटि सदस्य कृष्ण प्रसाद जैसी, बम बिसी, जिल्ला सचिवालय सदस्य शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, प्रचार विभाग प्रमुख भीम जनाला, प्रेस चौतारी अछामका पूर्व अध्यक्ष पुष्पराज भट्ट, पत्रकार शिवराज ढुंगाना, नरेश कुमार शाही, कृष्ण बहादुर बुढा, चन्द्र थापा, धनराज साउँद, कमल रावल, डण्डीराज भट्ट, भानु ढकाल, शंकर थापा, एकेन्द्र खत्री लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी अछामका सचिव टेकबहादुर थापाले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस