Techie IT

महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा सम विकासको भूमिका महत्त्वपूर्ण : प्रदेश सांसद कुँवर


सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर गोविन्दले सम विकास नेपाल महिलाको आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

सम विकास नेपाल ९ औँ वार्षिक साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य कुँवरले छाउपडी कुप्रथा देखि बालविवाह न्यूनीकरणको लागि सम विकास नेपालले उल्लेखनीय काम गरेको धारणा व्यक्त गर्नुभयो ।

यस्तै आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनको लागि सम विकास नेपाल गरेका क्रियाकलापको पनि प्रशंसा गर्नुभयो । सम विकास नेपाललाई प्रदेश सरकारबाट सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वार्षिक साधारण सभामा बोल्दै नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाहले सामाजिक रूपान्तरणको लागि सम विकास नेपालको भूमिका महत्त्वपूर्ण रहेको भन्दै पार्टीबाट पनि सक्दो सहयोग हुने बताउनुभयो ।

साँफेबगर नगरपालिका प्रवक्ता बालगिरी कुँवरले सम विकास नेपाल सङ्ग साँफेबगर नगरपालिका सहकार्य गर्दै अघि बढेको जानकारी गराउनुभयो । ९ औँ वार्षिक साधारण सभामा गत आर्थिक वर्षमा सम विकासले गरेको क्रियाकलाप बारेमा सम विकासका अध्यक्ष पशुपति कुँवरले जानकारी गराउनु भएको थियो ।

यस्तै कोषाध्यक्ष रुपा नेपालीले गत वर्षको आय ५५ लाख ८५ हजार र खर्च ५५ लाख ४६ हजार प्रस्तुत गर्नुभएको थियो। ।

कार्यक्रम वडा नं ४ का वडा सदस्य भगवती कुँवर, नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश तपेन्द्र कुँवर, वाक नेपालका अध्यक्ष बल बहादुर केसी,प्रेस चौतारी प्रदेश सदस्य पुष्पराज भट्ट, अन्तर पार्टी महिला सञ्जालका अप्सरा कुँवर, अपाङ्ग समन्वय समितिका नगर अध्यक्ष सर्जन परियार लगायतले बोल्नुभएको थियो ।

सम विकास नेपालका उपाध्यक्ष सत्य स्वारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन किशोरी सशक्तीकरण परियोजनाका प्रमुख पवन गिरिले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस