Techie IT

रामारोशन पर्यटन क्षेत्र विकासका लागी गुरु योजना तयार, पर्यटक भित्र्याउन के भए काम ?


आज ४२ औँ विश्व पर्यटन दिवस अछाममा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीकै बिच स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रूपमा दिवस मनाइएको हो ।

दिवसका अवसरमा रामारोशन पर्यटन क्षेत्र विकास समितिको आयोजनामा वडा नम्बर ५ रामारोशनमा स्थानीय सँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

रामारोशन पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चक्र बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रममा रामारोशन पर्यटन क्षेत्र विकासका लागि स्थानीय, सरोकारवाला निकाय र राजनीतिक दलको के कस्तो भूमिका हुने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो ।

यसैबिच कोरोना सङ्क्रमणका कारणले थला परेको अछामको पर्यटकीय क्षेत्र रामारोशन बिस्तारै लयमा फर्किन थालेको छ । रामारोशनमा अवस्थित रोशन, रामे, जिंगाले तालकै कारण पनि आन्तरिक पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ ।

मनमोहक ताल, अग्ला पहाड, विभिन्न रङ्गीबिरङ्गी फुलहरूले पर्यटकहरूको मन आकर्षित हुने हुनाले पनि रामारोशनमा पर्यटकहरूको आवागमन बढिरहेको रामारोशनका स्थानीयहरूले बताएका छन् ।

करिब २ वर्ष देखि कोरोनाको महामारीका कारणले लकडाउन हुँदा पर्यटकीय गन्तव्य रामरोशनको होटेल व्यवसाय प्रभावित बन्न पुगेको थियो ।

सरकारले घोषणा गरेको १०० गन्तव्यमा पर्न सफल भएको रामारोशनमा पर्यटकले होटेलमा पनि चहलपहल बढ्न थालेको छ । कोरोना सङ्क्रमणले थलिएको पर्यटन क्षेत्र विकासका लागि विभिन्न प्रयास भइरहेको व्यवस्थापन समितिको अध्यक्ष चक्र रावलले बताउनुभयो ।

उहाँले एकतर्फ सङ्क्रमणले थला परेको र अर्को तर्फ बर्षबर्ष बाढीका कारणले सडक बिग्रेका कारणले सोचेअनुरूप रामारोशनको पर्यटन क्षेत्रको विकास नभएको उल्लेख गर्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि आफू जहिले पनि सकारात्मक भएको उल्लेख गर्दै स्थानीय, विभिन्न सरोकारवाला निकाय र राजनीतिक दलले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्यटकहरूलाई भित्र्याउनका लागी पर्यटकीय मार्ग निर्माण,सडक बिस्तार, प्रचार प्रसार, होटेल तथा होम स्टे व्यवस्थापनमा जोड दिइने बताउनुभयो ।

कुराकानी : चक्र रावल


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस