Techie IT

बान्नीगढी गाउँपालिकामा गरिएको तालाबन्दी कायमै : गाउँपालिका मुकदर्शक बन्दा सेवाग्राहि मर्कामा 


बिद्यालयको अनुदान कोटा काटेको विरोधमा बान्नीगढी जयगढ गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी कायमै रहेको छ ।

शान्नीकोट आधारभूत विद्यालय बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका विद्यार्थी, अभिभावक,लगायत सरोकारवालाले बुधवार देखी गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।

विद्यालयले ०७५ सालदेखि पाउँदै आएको शिक्षक सिकाइ अनुदान कोटा कटौती गरि अन्य विद्यालयमा बितरण गर्ने गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेपछि त्यसको विरोधमा विद्यार्थी ,अभिभावक लगायत सरोकारवालाले प्रदर्शन गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

शान्नीकोट आधारभूत विद्यालयमा ६,७ र ८ सम्मका कक्षाहरू १ जना अनुदान कोटा र निजी शिक्षक मार्फत सञ्चालन हुँदै आएकोमा आवश्यक कोटा थप गर्नुको सट्टा कोटा हटाउने विभेदपूर्ण निर्णय गरिएकाले त्यसको विरोधमा तालाबन्दी गर्न बाध्य भएको बताउनु भएको छ ।

प्रदर्शन सहित गाउँपालिकामा तालाबन्दी गरेका आन्दोलनरत समूहले गाउँपालिकाको शिक्षा समितिले उक्त निर्णय तत्काल नसच्याए थप आन्दोलनका कार्यक्रम गर्ने एक सूचना मार्फत जानकारी गराएका छन् ।

बुधवार साँझ नै गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको भए पनि बान्नीगढी जयगढ गाउँपालिकाले भने आन्दोलनरत पक्षका माग सम्बोधन गर्न र तालाबन्दी खुलाउन कुनै पहल गरेको छैन ।

गाउँपालिका कार्यालयमा तालाबन्दी कायम हुँदा बिहीबार गाउँपालिका कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा प्रभावित भएका छन् भने सेवा लिन आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् ।

गाउँपालिकामा तालाबन्दी गरिएको बिषयमा कुरा गर्न बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई टेलिफोन सम्पर्क गर्दा उनको फोन उठेन ।

यो पनि पढ्नुहोस् :-

बान्नीगढी गाउँपालिकामा विद्यार्थी तथा अभिभावकद्वारा तालाबन्दी (भिडिओ सहित)


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस