Techie IT

भिडभाड नगरी चाडपर्व मनाउने अछाम प्रशासनको योजना (कुराकानी सहित)


जिल्ला प्रशासन कार्यालय अछामले दसैँ, तिहार लगायतका चाडपर्वलाई भिडभाड नगरी मनाउने वातावरण तयार गर्ने योजना अघि सारेको छ ।

कोरोना महामारी कायमै रहेको अवस्थामा सङ्क्रमणबाट बच्न प्रशासनले भिडभाडरहित चाडपर्व मनाउनुपर्नेमा जोड दिएको हो । प्रशासनले चाडपर्वका बेला स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा ध्यान दिन सबैमा अनुरोध गरेको छ ।

चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा योजना पनि प्रशासनले तयार पारेर लागू गरेको छ ।

कोरोनाको सङ्क्रमण अझै पनि कायमै रहेकाले त्यसबाट बच्नलाई सबैले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्ध बहादुर मल्लले बताउनुभयो ।

भिडभाडरहित एवं सुरक्षित र मर्यादित हिसाबले चाडपर्व मनाउने वातावरण तयार गर्न सबै पक्षसँग छलफल र समन्वय भइरहेको उहाँले बताउनुभयो ।

दसैँ सुरु भएसँगै विभिन्न मठमन्दिर, शक्ति पीठ र धार्मिक तीर्थस्थलहरूमा अत्यधिक भिडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाएको जानकारी मल्लले दिनुभयो ।

उहाँका अनुसार भिडभाड रोक्न र सामाजिक दूरी कायम गराउन सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिएको छ ।

प्रजिअ मल्लले तडकभडक र भिडभाड नगरीकन सामाजिक दूरी कायम गरी पर्वहरू मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

धार्मिक तीर्थस्थल, भिडभाड बढी हुने स्थान, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक स्थल, आपराधिक घटना धेरै हुनसक्ने सम्भावित स्थानमा २४ घण्टा नै सुरक्षा व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी मल्लले पछिल्लो समय बजार अनुगमन पनि तीव्र पारिएको जानकारी दिनुभयो ।

नियमित बजार अनुगमन गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो । चाडपर्वको मौकामा व्यापारीले सामानको मूल्य वृद्धि गर्ने र कालोबजारी गर्न सक्ने भएकाले कारबाही तीव्र पारिएको प्रजिअ मल्लले बताउनुभयो ।

सामान खरिद गर्दा ठगिएमा वा बजार मूल्यभन्दा बढी पैसा तिर्नु परेमा तत्काल प्रशासनलाई जानकारी गराउन उहाँले सबै उपभोक्तालाई आग्रह गर्नुभएको छ ।

कुराकानी : रुद्ध बहादुर मल्ल


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस