Techie IT

सचेतनाका लागि साक्षर


बान्नीगढी जयगढ गाउँपालिकाका वीरेन्द्र साउदले पालिकाले बनाएको वेबसाइटलाई धन्यवाद दिँदै भने, यो त मेरो भाग्य विधाता हो । जुन कुरा मेरो जीवनका लागि चाहिएको थियो, त्यो त्यहीँ थियो जसले मेरो जाँगरमा ऊर्जा थप्यो । अनि मलाई साँवा अक्षर चिन्न सिकाउने प्रौढ कक्षाका गुरुहरूलाई हार्दिक नमन गरेँ । उहाँहरूले मलाई पढ्न सक्ने बनाउनु भएको थिएन भने त्यो वेबसाइट मेरा लागि ‘कालो अक्षर भैँसी बराबर’ केही हुने थिएन । करिब ६ महिनाको मेरो अथक प्रयास र गुरुहरूको मार्गदर्शनले म बडापत्र, वेबसाइट पढ्न सक्ने भएको छु ।

“कुराको सिलसिला गाउँपालिकाले बाख्रा खोर सुधार कार्यक्रम वेबसाइटमा सार्वजनिक गरेको प्रसङ्ग र साउदले त्यही सूचनाका आधारमा सहयोग पाएर व्यवसाय सुरु गरेको बाट हो ”

आर्थिक वर्ष २०७७÷०७८ मा बान्नीगढी जयगढ गाउँपालिका अछाम र सुदूरपश्चिम प्रदेश सरकारको पहलमा गाउँपालिकामा बाख्रा खोर सुधार कार्यक्रम लागू भयो ।

गाउँपालिकाले बाख्रा खोर सुधार कार्यक्रमका लागि आफ्नो वेबसाइटमा सूचना राखेको थियो । वीरेन्द्रले त्यही वेबसाइटमा सूचना पढेर बाख्राको खोर सुधार कार्यक्रमबारे थाहा पाए ।

केही समयअघि देखि पालिका स्तरमा सञ्चालित प्रौढ कक्षमा सहभागी अधिकांश नागरिक यस्ता वेबसाइट, नागरिक बडापत्र पढ्न सक्ने भएका छन् । ‘पहिला त आफ्नो नामसम्म लेख्न सक्दैनथेँ, अहिले गाउँपालिकाको वेबसाइट हेर्न र त्यहाँ के सूचना छ भनेर पढ्न सक्छु,’ वीरेन्द्र भन्छन्, ‘यसकै लागि पालिका वा वडा कार्यालय पुगेर मात्रै थाहा हुन्थ्यो । अब भने घरमै बसेर सबै थाहा पाइन्छ । पछिल्लो समय शिक्षाप्रति धेरैको चासो पनि बढेको छ ।’

बाख्रा खोर सुधार कार्यक्रम पाएपछि वीरेन्द्र अहिले स्वरोजगार बनेका छन् । प्रदेश सरकारबाट १ लाख अनुदान पनि पाए । यसैले उनको खोरमा अहिले ५३ वटा बाख्रा भए ।

हामी पढ्न नजान्नेहरू पनि साक्षरता कक्षामा सहभागी भएपछि सूचनासम्म पढ्न सक्ने हुँदा पनि धेरै फाइदा भएको उनी बताउँछन् । अन्य अनुदान कार्यक्रम पनि वेबसाइट हेरेरै थाहा पाउने गरेको स्थानीयले जानकारी दिए ।

गाउँमा बाख्रा पालन गर्ने सोच बनाएका वीरेन्द्रको जीवनमा वेबसाइटमा देखेको सूचनाले नै सपना पूरा गरेको उनको तर्क छ ।

प्रदेश सरकारबाट १ लाख अनुदान पाएपछि वीरेन्द्रले बाख्रा पालनमा जोड दिएका छन् । उनका २ छोरा र एक छोरी छन्, उनीहरू सबै बोर्डिङ स्कुलमा पढ्छन् ।

पहिला छाक टार्न धौधौ हुन्थ्यो, बिरामी पर्दा उपचारका लागि पैसा सापटी दिने कोही हुँदैन थिए । उनले भने ‘अहिले त घर खर्च धान्न खासै गाह्रो छैन । छोरीलाई राम्रो शिक्षा दिनुपर्छ भन्ने लागेको छ ।’

स्कुल नटेकेरै आफ्नो र परिवारका सदस्यको नाम लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचार राख्न सक्ने भएको वीरेन्द्रजस्ता यस पालिका धेरै छन् ।

साक्षरता कक्षाबाट अक्षरसँग साइनो जोड्ने वीरेन्द्र एक्ला छैनन् । स्कुल–कलेज पढ्ने थुप्रैका अभिभावक अहिले पढ्न जान्ने भएका छन् ।

बान्नीगढीकै ३३ वर्षीय इन्द्रसरा बुढाले लेखपढ गर्न सक्ने भएको दुई वर्ष भयो । अक्षर चिन्न सक्ने भएपछि उनले गाउँकी अगुवा महिलाका रूपमा आफ्नो परिचय बनाएकी छन् ।

उनले गाउँमा रहेको किसान माइक्रो फाइनान्सबाट ५ हजार ऋण लगेर खुद्रा पसल पनि चलाएकी छन्  । ‘सानैमा पढ्ने रहर थियो, आर्थिक अवस्थाका कारण पढ्न पाइएन, उमेर ढल्की सकेपछि पढ्न पाइयो,’ उनले भनिन्, ‘घरपरिवार सबै साक्षर भएका छन् ।’

साक्षरता कक्षाले ग्रामीण महिलाको आत्मबल पनि बढाएको छ । गाउँघरमा हुने सभा र बैठकहरुमा जानै लाज मान्नेहरू अब भने निर्धक्कसाथ आफ्ना कुरा राख्न सक्ने भएका छन् ।

साक्षरताले महिलालाई घर र समाजमा सम्मानित महसुस गराएको छ । यससँगै अन्य सीप पनि सिकेपछि व्यापार र व्यावसायिक काममा लागेको उनीहरूको भनाइ छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ५ का वडा सदस्य रतन दमाईलाई आफ्नै गाउँका मान्छेले ‘पढेर मास्टर्नी हुन्या होइ क्या?,’ भनेको अहिल्यै झैँ लाग्छ ।

‘अचेल मेरो प्रगति देखेर त्यस्तो भन्ने मान्छेहरू टाउको लुकाएर हिँड्छ,’ उनी भन्छिन्, ‘पढाउने मास्टर्नी नभए पनि गाउँदेखि गाउँपालिकाको नेतृत्व गर्ने वडा सदस्य भएकी छु, अबको निर्वाचनमा वडाध्यक्षका लागि उठ्ने हुँ ।’

साक्षरता अभियानलाई अछाम जिल्लामा सञ्चालित विभिन्न परियोजनाले चलाएका थिए ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा सञ्चालित गैरसरकारी संस्थाको शिक्षा परियोजना र कार्यमूलक साक्षरता कक्षाअन्तर्गत गाउँपालिकाका ६ वटै वडामा प्रौढ कक्षा सुरु गरिएको थियो ।

यसबाट स्कुल टेक्न नपाएकाको जीवनमा निकै उतारचढाव ल्याएको छ । सामान्य पढ लेख गर्नसमेत नजान्ने नागरिकले अहिले आफ्नो जीवन शिक्षामय बनाएका छन् । पालिकाको नागरिक बडापत्र, वेबसाइट पढ्न सक्ने भएका छन् ।

साक्षरता अभियानलाई सुरुमा ‘सेभ द चिल्ड्रेन र वाक नेपाल’ ले सघाएका थिए । परियोजना सँगसँगै गाउँपालिकाले पनि निरन्तरता दिएको छ । गाउँपालिकाले छ वटै वडामा साक्षरता कक्षा चलायो  । पालिका मात्रैले यस कार्यक्रमका लागि १२ लाख १२ हजार ४५० रुपैयाँ खर्च गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले जानकारी दिए । अहिले यो गाउँपालिकामा ९५.८३ प्रतिशत नागरिक साक्षर भएका छन् ।

अछाममा कार्यरत सामाजिक परिचालक चेतराज जोशी नागरिकहरू अक्षर चिन्न र महिला तथा दलित समुदाय नेतृत्वमा पुग्न सक्ने भएको बताउँछन् । प्रौढ कक्षाले सिकाइका लागि सहयोग गर्छ र उनीहरूको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन ल्याउँछ ।

चेतराज भन्छन्, ‘सबै नागरिकले स्थानीय परिवेश बुझ्दैनन्, ठुला विषय पढ्न नसके पनि अक्षर चिन्न सक्ने भएका छन् । यसले नागरिकलाई धेरै कुरामा सहयोग गर्छ ।’

वि.स. २००४ सालमा प्रौढ शिक्षा सुरु भएदेखि नै निरक्षरता हटाउन प्रौढ साक्षरता, सघन साक्षरता कार्यक्रम सञ्चालन गरियो । वि.स. २०६५ र २०६९ सालमा दुई पटक गरी जम्मा ६ वर्षको राष्ट्रिय साक्षरता अभियान सञ्चालन भयो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ पुस १६ गतेको निर्णयबमोजिम साक्षर नेपाल वर्ष, २०७६ अवधारणा पत्र जारी भई यो वर्ष नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने उद्घोष गरिएको थियो । सोही राष्ट्रिय अभियानबमोजिम अछामका सबै स्थानीय तहमा अवधारणा पत्रअनुसार क्रियाकलाप सञ्चालन भए ।

स्थानीय तहहरू साक्षर घोषणा भएपश्चात् २०७८ असार २१ गते अछामलाई नै साक्षर जिल्ला घोषणा गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीका अनुसार साक्षर वर्ष, २०७६ अवधारणा पत्रबमोजिम साक्षरताका लागि तोकिएका सक्षमताअनुसार राष्ट्रभाषा र मातृभाषाका वर्ण, अक्षर पढ्न र लेख्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम र उमेर लेख्न तथा पढ्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, सामान्य ट्राफिक सङ्केतहरू बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सहभागिता जनाउन सक्ने भएपछि साक्षर जिल्ला घोषणा भएको हो ।

साक्षर स्थानीय तह घोषणाका लागि स्थानीय तहमा साक्षरता अभियान नगरपालिका र गाउँपालिका समिति गठन भएको थिए । प्रमुख गिरी भन्छन्, ‘साक्षर वडा तथा पालिका घोषणाको कार्य योजना निर्माण, साक्षर तथा निरक्षरहरूको तथ्याङ्क सङ्कलन गरी साक्षर स्थानीय तह घोषणा गरेका हौँ ।’ जिल्लाका सबै नागरिकलाई अहिले पनि साक्षर बनाउन विभिन्न कार्यक्रम चलिरहेको छ ।

कुन पालिकामा कति साक्षरता दर ?

अछाम जिल्लामा जम्मा घरधुरी ४८ हजार ३ सय ५१ रहेको छ । जनसङ्ख्या २ लाख ८६ हजार ९ सय ७० रहेको छ ।

साक्षर जिल्ला घोषणा गर्दा निकालिएको तथ्यांक अनुसार ९५.५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित छ । जिल्लामा अझै ७ हजार ३ सय २३ जना साक्षर हुन बाँकी छन् ।


क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, रोजगार, सफलता को कथा, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस